आधारभूमि संवाददाता
काठमाडौं, कात्तिक १९
माग अनुसारको बिजुली बत्ति आयात नभएपछि यसको मौका थापेर बिजुली बत्तिका व्यवसायीहरुले माला बत्तिको मूल्य ह्वात्तै बढाएका छन् । जसमा बाणिज्य विभागका अधिकारीहरु पनि मौन छन् ।
गत वर्षको तुलनामा दोब्बर महंगो भएको ग्राहकहरु बताउँछन् । यता व्यवसायीहरु दोब्बर बढेको स्वीकार्न तयार त छैनन् । तर, डलरको मूल्य नै बढेकाले भाउ ३० प्रतिशतसम्म बढेको स्वीकार्छन् ।
नेपाल विद्युतीय व्यवसायी महासंघका अनुसार नेपालमा वर्षेनि करिब ७० अर्ब बराबरको झिलिमिलि बत्ती आयात हुने गरेको छ । बिशेषगरि छिमेकी मुलुक चिनबाट आयात हुने यस्तो बत्तिहरु यो वर्ष भने ब्यापारीहरुले माग अनुसार ल्याउन सकेनन् । महामारीका कारण बिक्री नहुने हो कि भन्ने भयले ब्यापारीले बिगतका वर्षमा जस्तो ठूलो मात्रामा बत्ति अर्डर गर्न सकेनन् । अर्डर गरिहालेपनि चिनीयाँ ब्यापारीले माग गरेजति पनि उपलब्ध गराउन नसकेको ब्यापारीहरु बताउँछन् ।
यो वर्ष भने २० अर्बको मात्रै बिजुली आयात भएको छ । माग अनुसारको नआएकाले बजारमा बिजुली बत्तिको मूल्य भने तीस प्रतिशतसम्म बढेको छ । तर केहि ब्यापारीले दोब्बर रकम सम्म असुली गर्ने गरेको ब्यापारीहरु बताउँछन् ।
यो वर्ष तिहारका लागि भनेर २० करोड बराबरको झिलिमिली बत्ति आयात भएको छ । बिक्री नहुने हो कि भन्ने भयले बत्तिको आयात कम गरिएकाले बजारमा माग अनुसारको बत्ति भने उपलब्ध छैन ।
तिहार लागेसगै शहरमा झिलीमिली बत्तिहरु बल्न थालेका छन् । तर, यि झिलीमिली बलेका बत्ति नेपालमै बनेका भने होइनन् । भारत र चिनमा बनेका यस्ता बत्तिले अहिले शहर झिलिमिली बनाएका हुन् ।