neapl investment mega bank
  • गृहपृष्ठ
  • महाकवि देवकोटाको साहित्यिक योगदानबारे चर्चा

महाकवि देवकोटाको साहित्यिक योगदानबारे चर्चा

Nov 4th, 2021

काठमाडौँ, १८ कात्तिक /रासस

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औँ जन्मजयन्तीका अवसरमा देवकोटाको साहित्यिक योगदानको चर्चा एवं कविगोष्ठीलगायतका कार्यक्रम गरिएका छन् । साहित्यिक पत्रकार सङ्घ र कमलपोखरी छठपूजा समाजको संयुक्त आयोजनामा बुधबार कमलपोखरीमा साहित्यिक कार्यक्रम सन्पन्न भएको छ ।

कार्यक्रममा वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकारले देवकोटाको योगदानको स्मरण गर्दै कमलपोखरी क्षेत्रको विकासबारे प्रकाश पार्नुभयो । वरिष्ठ नाट्यकर्मी अशेष मल्लले नेपाली साहित्यमा देवकोटाको योगदान अविस्मरणीय भएको बताउँदै नेपालले विश्वमा देखाउनसक्ने ती विशेष कुरामा सगरमाथा, बुद्ध र देवकोटा रहेको उल्लेख गर्नुभयो ।

कवि एवं समालोचक प्रमोद प्रधानले नेपाली साहित्यमा सबैभन्दा बढी विद्यावारिधि गरिएको र सबैभन्दा बढी पुस्तक लेखिएका साहित्यकार सम्भवतः देवकोटा नै भएको बताउनुभयो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय उपाध्यक्ष बाबा बस्नेतले देवकोटाको सम्झनाले नेपाली साहित्यकारले गौरवबोध गर्ने गरेको धारणा राख्नुभयो ।

सो अवसरमा सर्जक नरेन्द्रबहादुर श्रेष्ठ, नियात्राकार युवराज नयाँघरे, दामोदर पुडासैनी, मन्जिला अनिल, गीता कार्की, शान्ति रिसाल, शशी रिमाल, शशी थापा, मुरारी सिग्देल, नीता श्रेष्ठ, पारु तिमिल्सिना, एलिशा ढुङ्गानालगायतले कविता वाचन गर्नुभएको थियो ।

सङ्घका अध्यक्ष राधेश्याम लेकालीले आगामी दिनहरूमा पनि सङ्घले यस्ता कार्यक्रम गर्ने जानकारी दिनुभयो । जयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले बुधबार कमलादीमा विशेष कार्यक्रमको आयोजना गरेको थियो भने कौशिकी साहित्य प्रतिष्ठानले पुस्तक विमोचनको कार्यक्रम आयोजना गरेको थियो ।