काठमाडौँ, १७ कात्तिक /रासस
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि फ्रान्सका राजदूत जिल बुरबाओले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच नेपाल–फ्रान्सबीचको आपसी सम्बन्ध र दुईपक्षीय चासोबारे छलफल भयो ।
सो अवसरमा ऊर्जामन्त्री भुसालले ऊर्जा सञ्चिति तथा ‘हाइड्रो इनर्जी’सँग सम्बन्धी प्रविधिबारे चासो राख्दै नेपालमा उपलब्ध ऊर्जालाई व्यवस्थित गर्न चाहेको बताउनुभयो । उहाँले जलविद्युत् खपत गर्ने फ्रान्सका उद्योगहरूलाई नेपालमा स्थापनाका लागि आवश्यक सहयोग उपलब्ध गराउने विश्वास दिलाउँदै त्यसका लागि पहल गर्न आग्रह गर्नुभयो ।
नेपालले जलवायु परिवर्तनको मार खेप्नु परेको यथार्थ बताउँदै मन्त्री भुसालले अन्तर्राष्ट्रिय मञ्चमा नेपालजस्ता मुलुकका मुद्दालाई सक्रियतापूर्वक उठाउनुपर्नेमा जोड दिनुभयो । नेपाल–फ्रान्सबीच रही आएको आपसी सम्बन्ध आगामी दिनमा अझ विस्तार हुने विश्वास व्यक्त गर्दै मन्त्री भुसालले फ्रान्सले नेपाललाई उपलब्ध गराउँदै आएको आर्थिक एवं सामाजिक क्षेत्रको सहयोग निरन्तर हुने विश्वस व्यक्त गर्नुभयो ।
त्यसैगरी फ्रान्सका राजदूत बुरबाओले ऊर्जा क्षेत्रमा फ्रान्सले विकास गरेको नयाँ प्रविधि नेपालमा भित्र्याउनका लागि आफ्नो देशका निजी कम्पनी इच्छुक रहेको बताउँदै त्यसका लागि सहयोग गर्न आग्रह गर्नुभयो ।
उहाँले वैकल्पिक ऊर्जा एवं ऊर्जा सञ्चितिका सम्बन्धमा फ्रान्समा विकास भएका प्रविधि नेपाल ल्याउन चाहेको बताउनुभएको थियो । त्यस अवसरमा जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई, सहसचिव मधुकर राजराजभण्डारीसहित पराष्ट्र मन्त्रालयका प्रतिनिधिको सहभागिता थियो ।