neapl investment mega bank
  • गृहपृष्ठ
  • सामलिङ्ग पावर कम्पनीको साधारण सेयर बाँडफाँट

सामलिङ्ग पावर कम्पनीको साधारण सेयर बाँडफाँट

Nov 2nd, 2021

काठमाडौ, कात्र्तिक १६

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकत्वमा सामलिङ्ग पावर कम्पनी लिमिटेडको प्रति शेयर अंकित मुल्य रु.१००।— दरका सर्वसाधारणलाई छुट्याईएको ७३०००० कित्ता शेयर मध्ये १४६०० कित्ता कम्पनीका कर्मचारीहरुलाई र ३६५०० कित्ता सामूहिक लगानी कोषहरुलाई वाँडफाँड गरी बाँकी रहेको ६७८९०० (छ लाख अठहत्तर हजार नौ सय) कित्ता साधारण शेयरहरुको आज मंगलबार बाँडफाँड गरिएको छ । कम्पनीले २०७८ कार्तिक ४ गते देखि २०७८ कार्तिक ८ गतेसम्म सर्वसाधारणका लागि निष्काशन खुल्ला गरिएको साधारण शेयरहरु मंगलबार बाँडफाँड गरेको हो ।

सर्वसाधारणका लागि छुट्याईएको शेयरका लागि २१८८७७८ योग्य आवेदक मध्येबाट गोलाप्रथाको माध्ययमबाट ६७८९० जना सफल आवेदनकर्ता छनौट गरी प्रत्येक सफल आवेदनकर्तालाई १० कित्ताका दरले शेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका कुल १२३०००० (बाह्र लाखतीस हजार) कित्ता साधारण शेयर मध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि छुट्याईएको ५००००० कित्ता, कम्पनीका कर्मचारीहरुलाई छुट्याईएको १४६०० कित्ता र सामूहिक लगानी कोषहरुलाई छुट्याईएको ३६५०० कित्ता यस अघि नै बाँडफाँड गरिसकेको छ ।

कम्पनीले इलाम जिल्लास्थित माईबेनी जलविद्युत आयोजनाबाट ९.५१ मेगावाट जलविद्युत आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी मिति २०७८ आश्विन १ गते (तदनुसार सेक्टेम्बर १७, २०२१) देखि व्यापारिक उत्पादन सुरु गरी सकेको छ । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । यस मर्चेन्टले धितोपत्र निष्काशन तथा बिक्रीप्रवन्धक, लगानी व्यवस्थापक, शेयर रजिष्टार, संस्थागत परामर्श, अन्डरराईटिङ्ग जस्ता सेवा प्रदान गरिरहेको छ ।