चितवन, १५ कात्तिक/रासस
नेकपा (एमाले) स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले यहाँ गर्न लागिएको पार्टीको महाधिवेशनमा पाँच लाख नेता कार्यकर्ता उद्घाटन सत्रमा सहभागी हुने बताउनुभएको छ ।
आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले विभिन्न प्रदेशबाट नेता कार्यकर्ता आउने बताउनुभयो । पाण्डेले महाधिवेशनमा गण्डकीबाट ५० हजार, लुम्बिनीबाट ७५ हजार, वाग्मतीबाट दुई लाख ५० हजार, प्रदेश नं १ बाट २५ हजार सहभागी हुने अनुमान गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हरेक जिल्लाबाट धेरै जनता सहभागी गराउने तयारी छ ।” उद्घाटनसत्र हुने नारायणी नदी किनारमा रहेका खाल्डाखुल्डी पुरेर व्यवस्थापन गर्न लागिएको उहाँको भनाइ थियो । उद्घाटन सत्रपछि बन्द सत्र सौराहामा गरिने जानकारी दिनुभयो । सौराहामा करिब तीन हजार ५०० जनालाई बस्ने व्यवस्था मिलाइने उहाँको भनाइ छ ।
आजै महाधिवेशन मूलसमितिको सम्पर्क कार्यालय एमाले चितवनको पार्टी कार्यालयमा स्थापना गरी महाधिवेशन तयारी तीव्र पारिने उहाँले जानकारी दिनुभयो । उहाँले यसपालिको महाधिवेशन सहमतिमा हुने र केही पदमा मात्रै चुनाव हुनसक्ने बताउनुभयो । महाधिवेशमा दुई हजार प्रतिनिधि सहभागी हुँदैछन् ।
नेता पाण्डेले महाधिवेशन कुनै दल र नेताप्रति लक्षित गरेर नगरिएको दाबी गर्नुभयो । बुटवलमा हुने भनिएको महाधिवेशन अन्तिम समयमा चितवनमा सारिएको हो । महाधिवेशन आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुँदै छ ।