neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • राष्ट्रिय सुस्त मनःस्थिति कल्याण संघको केन्द्रीय सभा सम्पन्न, लम्बोदर कायस्थको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

राष्ट्रिय सुस्त मनःस्थिति कल्याण संघको केन्द्रीय सभा सम्पन्न, लम्बोदर कायस्थको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

Oct 31st, 2021

काठमाडौ, कात्र्तिक १४

राष्ट्रिय सुस्त मनःस्थिति कल्याण संघको २४ औं केन्द्रीय सभाले लम्बोदर कायस्थको अध्यक्षतामा १२ सदस्यीय कार्य समिति सर्वसम्मतिले चयन गरेको छ ।

शनिवार काठमाडौंमा भएको केन्द्रीय सभा पछि भएको निर्वाचनमा सर्वसम्मति जुटेको नवनिर्वाचित महासचिव रविन्द्र के.सी.ले बताउनुभएको छ । कायस्थको नेतृत्व रहेको नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा निर्मलकुमार श्रेष्ठ, महासचिवमा रविन्द्र के.सी. कोषाध्यक्षमा उर्गादेवी श्रेष्ठ, सचिवमा अगमकुमार पालिखे र सहकोषाध्यक्षमा विष्णुबहादुर श्रेष्ठ चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा संझना श्रेष्ठ, विश्वनाथ ओझा, गोपालप्रसाद निरौला,सपना बादे, राम श्रेष्ठ र निवर्तमान अध्यक्ष मुक्तिनाथ अधिकारी रहनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष कायस्थले शनिवार नै जिम्मेवारी सम्हाल्दै सुस्त मनःस्थितिका नागरिकहरुको कल्याणको विषय राज्यको प्राथमिकतामा पर्न नसकेको बताउनुभएको थियो । उहाँले आफ्ना कुराहरु अभिव्यक्त गर्न नसक्ने यो समूहको कल्याणको लागि गैरसरकारी पहलमात्र पर्याप्त नभएको बताउनुभयो । उहाँले दिवा विद्यालयको गुणस्तर सुधार गर्नुपर्ने, छात्रवृत्ति रकम बढाउनुपर्ने र विशेष भत्ताको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको पनि बताउनुभयो ।

जिम्मेवारी हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका निवर्तमान अध्यक्ष मुक्तिनाथ अधिकारीले बौद्धिक अपांगताको क्षेत्रमा थुप्रै सुधारका कार्यक्रम गर्नुपर्ने खाँचो रहेको उल्लेख गर्नुभयो । उहाँले संस्थासंग उचित कार्यक्रमहरु रहेको भए पनि दीगो आर्थिक स्रोतको जोहो हुन नसक्दा ती कार्यक्रमहरु सञ्चालन गर्न कठिनाई भएको बताउनुभयो ।

उहाँले आफ्नो कार्यकालमा २०७६ सालमा नेपालमा एशियाली सुस्त मनःस्थिति महासंघको २४ औं सम्मेलन सफलतापूर्वक आयोजना गरी सीमित स्रोत र साधनका बीचमा थालिएका बौद्धिक अपांग नागरिकहरुको कल्याणका कार्यक्रमप्रति एशियाली राष्ट्रको ध्यानाकर्षण गर्न सफल भएको पनि उल्लेख गर्नुभयो ।

उहाँकै कार्यकालमा सुस्त मनःस्थिति भएका छात्रछात्राहरुलाई विशेष शिक्षा तथा तालिमको अलावा कृषिमा आधारित पशुपालन कार्यक्रममा प्रोत्साहित गर्न थालिएको टेवा कार्यक्रमलाई एशियाली स्रोत केन्द्र जापानले काओरु स्टार राफ्ट अवार्ड प्रदान गरेको थियो ।
२०४० सालमा स्थापित सुस्त मनः स्थिति कल्याण संघले देशका २६ जिल्लाहरुमा ३७ वटा विशेष विद्यालय, श्रोत केन्द्र, जनचेतना,सीप तथा आयमूलक व्यवसायिक कार्यक्रम,तालिम र पारिवारिक परामर्श केन्द्रमार्फत झण्डै १० हजार ५ सय जना बौद्धिक अपांगता भएका व्यक्तिहरुलाई सेवा पुर्याउदै आएको छ ।

आयोडिनको कमी, अस्वस्थ्यकर बच्चाको जन्म, कुपोषण,चोटपटक, अज्ञानता र गरिबीका कारण नेपालका सुस्तमनस्थिति (बौद्धिक अपाङ्गता) देखा परेको बताइन्छ । शनिवार भएको केन्द्रीय सभाले हाल भैरहेको जनगणनामा बौद्धिक अपांगता भएका नागरिकहरुको यथार्थ विवरण संकलन गर्न सरकारसंग अनुरोध गर्ने निर्णय पनि गरेको छ । शनिवार भएको केन्द्रीय सभाको उद्घाटन राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटा र बौद्धिक अपाङ्ग सिम्रिका लामाले संयुक्त रुपमा गर्नुभएको थियो ।

आफ्नो समुद्घाटन मन्तव्यमा प्रमुख अतिथि देवकोटाले बौद्धिक अपांगता भएका नागरिकहरुको कल्याण गर्ने संस्थाहरुलाई सरकारले नै नियमित बजेट बिनियोजन गरी सहयोग गर्न आवश्यक भएको बताउनुभएको थियो । उहाँले बौद्धिक अपांगता भएका व्यक्तिहरुले परिवारबाट पाउने पैतृक सम्पति पनि ट्रष्ट बनाएर राखी तिनको कल्याणमा लगाउनु उचित हुने बताउनुभयो । उनीहरुको अंश अन्य दाजुभाइबाट सुरक्षित गरी संबन्धित व्यक्तिले नै उपयोग र उपभोग गर्ने अवस्था सिर्जना गर्न पनि आवश्यक भएको उहाँले बताउनुभएको थियो । संस्थाको केन्द्रीय सभाले महासचिवको प्रतिवेदन र भावि कार्यक्रमहरु पनि पारित गरेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi