आधारभूमि संवाददाता
काठमाडौं, कात्तिक १४
१२ वटा सहकारी समस्यामा पर्दा त्यहाँ जनताको करिब १ अर्ब १७ करोड बराबरको रकम फसेको छ । गलत तरिकाले कारोबार गरेकाले करिब १२ वटा सहकारी त बागमती प्रदेशमा मात्रै समस्यामा पर्न लागेका छन् ।
सिभिल सहकारीसँगै अन्य सहकारी पनि समस्यामा रहेको स्रोत बताउँछ । त्यस्तै गलत तरिकाले कारोबार गरेको र निक्षेपकर्ताको रकम समयमा फिर्ता नगर्ने ९४ वटा सहकारी बिरुद्ध सहकारी विभागमा उजुरी परेको छ ।सहकारीले बचत फिर्ता नगरेको, बिना जानकारी धितो लिलामी गरेको र निक्षेपकर्ताको रकम अपचलन गरेको भन्दै सहकारी विभागमा उजुरी परेको हो ।
नेपालमा सञ्चालनमा रहेका कैयन सहकारीहरु यो सिद्धान्त र मूल्य मान्यता भन्दा बाहिर गएर सञ्चालनमा छन् ।
सिद्धान्त बाहिर भएर सञ्चालनमा भएकाले नै १२ वटा संस्था त समस्याग्रस्त भइसकेका छन् । त्यस्तै यि संस्थामा निक्षेपकर्ताको १ अर्ब १७ करोड बराबरको रकम फसेको छ । यसबाहेक ९४ वटा संस्थाको बारेमा सहकारी विभागमा उजुरी परेको छ । निक्षेपकर्ताको रकम फिर्ता नगरेको र रकम फिर्ता नगरेका यस्ता सहकारीमाथि विभागले अहिले छानवीन गर्दैछ ।
सहकारी सञ्चालकहरुले झुट्टा सदस्य तयार गरेर ऋण प्रवाह समेत गर्ने गरेका छन् । केहि सिमित सञ्चालकहरुले निक्षेपकर्ताको रकम चलाउने र अन्य सदस्यहरु ब्याजको लोभमा सहकारीका आन्तरिक गतिबिधीमा बेखबर हुँदा सहकारीबाट बिचल्ली पर्नेहरु दिनदिनै बढेका छन् ।
देशभरमा करिब ३२ हजार ८ सय सहकारी सञ्चालनमा छन् भने यि सहकारीमा करिब ७ खर्ब बराबरको रकम जम्मा भएको छ । १ सय ४७ वटा सहकारी विभागले अनुगमन गरेपनि ति बाहेकका सहकारी आवश्यक मात्रै होइन दक्ष जनशक्ति नभएका स्थानिय निकाय र प्रदेशलाई जिम्मा दिइएको छ ।
रकम अपचलन हुन नपाओस् भनेर सरकारले कोपोमिक्स सफ्टवेयरमा सबै सहकारीलाई आवद्ध हुन आगह गरेपनि अहिलेसम्म जम्मा ७ हजार मात्रै यसमा आवद्ध भएका छन् । सरकारले सबै सहकारीलाई कडाईका साथ कोपोमिक्समा आवद्ध हुन दवाव दिनु पर्छ ।