महेन्द्रनगर, ६ कात्तिक /रासस
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र राष्ट्रलाई सङ्कटबाट बचाउन सबै एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ ।
कञ्चनपुरको बेलौरीमा आज नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं १ ले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले बाढी र पहिराबाट पीडितलाई सहानुभूति व्यक्त गर्नुभयो । उहाँले पीडित नागरिकलाई राहत पुग्ने गरी प्याकेज ल्याउन सरकारको ध्यानार्कषण गराउनुभयो । उहाँले दक्षिण क्षेत्रमा बाढी र डुबानले परेको क्षतिको स्थलगत अनुगमनसमेत गर्नुभएको थियो । पौडेलले पार्टीको महाधिवेशन तोकिएको समयमा गर्नुको विकल्प नरहेको बताउनुभयो ।
उहाँले पार्टीलाई सङ्कटबाट जोगाउन पनि एकता आवश्यक रहेको आँैल्याउनुभयो । बेलौरीमा कार्यकर्ता भेटघाट पनि नेता पौडेलले भीमदत्त नगरपालिकाको महाकाली तटीय क्षेत्रमा बाढीले गरेको कटानको समेत स्थलगत निरीक्षण गर्नुभएको थियो ।