neapl investment mega bank

नेकमा सरसफाइमा पेशागत तालिम

Oct 11th, 2021

भक्तपुर, असोज २५

सरसफाईमा पेशागत रुपमा काम गरिरहेका प्राविधिकहरूलाई प्रदान गरिएको तालिमका सहभागीहरुलाई एक कार्यक्रमवीच भक्तपुरमा प्रमाणपत्र प्रदान गरिएको छ । नेपाल इन्जिनियरिङ कलेज (नेक) चाँगुनारायण दुवाकोट भक्तपुरको आयोजनामा भएको चारमहिने पेशागत तालिमका सफल सहभागीहरूलाई नेपाल इन्जिनियरिङ कलेज (नेक) का प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठ र काठमाडौं विश्वविद्यालय विद्यार्थी कल्याण शाखाका निर्देशक प्रा.डा. बिम श्रेष्ठले संयुक्त रुपमा प्रमाणपत्र प्रदान गरेका हुन् । नेकले संचालन गर्ने तीन चरणको तालिममध्ये पहिलो चरणको तालिम सम्पन्न गरेको हो ।

अमेरिकाको वील एण्ड मलिण्डा गेट्स फाउण्डेशनको कोषबाट अन्तर्राष्ट्रिय जीएसजीएस परियोजना अन्तर्गत विश्वका ५० वटा विश्वविद्यालयहरूमा संचालित सरसफाईमा मानव संसाधन विकास कार्यक्रमहरूमध्ये काठमाडौं विश्वविद्यालय धुलिखेलका प्रा.डा. बिम श्रेष्ठको नेतृत्वमा नेपालका तीनवटा विश्वविद्यालयहरूमा सरसफाईमा स्नातकोत्तर कार्यक्रम र पेशागत तालिमहरू संचालन गर्ने कार्यक्रम रहेको छ । यस परियोजनामा पोखरा विश्वविद्यालय अन्तर्गतको नेपाल इन्जिनियरिङ कलेज (नेक), काठमाडौं विश्वविद्यालय धुलिखेल र त्रिभुवन विश्वविद्यालय धरानको पूर्वाञ्चल क्याम्पसमा कार्यक्रम संचालन हुँदैछन् ।

तालिममा सहभागी हुनेहरूको संख्यामा महिलाको संख्या कम्तिमा ५० प्रतिशत हुनुपर्नेमा नेकमा दिइएको तालिम सम्पन्न गर्ने १५ जनामा १३ जना महिला रहेको कलेजका उपप्राध्यापक विनय शाक्यले जानकारी गराए । प्रमाणपत्र पाएका सवैले आफ्नो पेशागत जीवन देशको व्यवस्थित सरसफाईमा समर्पन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।अन्तर्राष्ट्रिय परियोजना अन्तर्गत बनाईएको पाठ्यक्रममा आधारित विभिन्न देशमा संचालित तालिम भएकोले यस तालिमको प्रमाणपत्रको अन्तर्राष्ट्रिय मान्यता रहेको कलेजका प्रचार्य प्रा.डा. श्रेष्ठले जानकारी गराए ।