आधारभूमि संवाददाता
काठमाडौ ,१७ असोज
मूल्यसूचि नराख्ने र ग्राहकबाट चर्काे रकम असुल्नेहरुलाई बाणिज्य विभागले कार्वाहि सुरु गरेको छ । यसैक्रममा आइतबार सिटिसि मल र चाइना टाउनका ब्यापारीमाथि बाणिज्य विभागले कार्वाहि गरेको हो ।
सिटिसि मल र चाइना टाउनका ब्यापारीलाई अस्वाभाविक नाफा राखेको, मूल्य सुचि नटासेको जस्ता बिषयलाई लिएर बाणिज्यले त्यहाँका पसलेहरुलाई कार्वाहि गरेको छ ।
चाडपर्व नजिकिएसँगै बाणिज्य विभागले आफ्नो अनुगमन बढाएको छ । ब्यापारीहरुले मूल्य सुचि नै नराख्ने, टासेपनि खरिद गरेको भन्दा ३० देखि ४० प्रतिशतसम्म नाफा राखेर बेचेको देखिएको छ ।
गत भदौमा २ सय ४० स्थानमा बजार अनुगमन गरेको विभागले असोज महिनाका १६ दिनमा नै ३ सय १४ स्थानमा अनुगमन गरिसकेको छ । चाडपर्व नजिकिएसँगै विभागको अनुगमन बढेपति ति ग्राहकको भिडभाड हुने स्थान भन्दा पनि मलहरुमा केन्द्रित भएको देखिन्छ ।
हुनत विभागले खाद्यान्न पसलहरुमा अनुगमन नबढाएको पनि होइन, तर चाडपर्व नजिकिएँगै खरिद गरिने ल्यापटप तथा मोबाइलका पसलमा ग्राहकको भिड बढेपनि विभाग पुग्न सकेको छैन । विभाग भने चाडपर्वका समयमा कपडा र खाद्यान्न बढि खपत भएकाले त्यहाँ अनुगमन केन्द्रित गरेको दाबी गर्छ ।
खरिद बिल नै नराख्ने, मूल्यसूचि नटास्ने र अस्वाभाबिक रकम असुल्ने ब्यापारीहरुको बानीमा सुधार ल्याउन विभागले चाडबाडका समयमा मात्रै होइन, अन्य बेलामा पनि चाडबाडकै जसैगरि अनुगमन गर्ने र कडा कार्वाहि गर्नु जरुरी छ ।
अनुगमन पटक पटक नभएकाले बजारमा बस्तुको भाउ बढ्न भने छाडेको छैन । विभागको अनुगमन खाद्यान्न पसल तथा कपडामा मात्रै केन्द्रित भएको छ अन्यमा भने विभागले अनुगमन बढाउन सकेको छैन ।
गत जेठमा बजारमा भटमासको तेलको मूल्य २ सय ३० रुपैयाँ थियो । जुन अहिले बढेर प्रतिलिटर २ सय ५० भएको छ । यसैगरि चिनीको मूल्यपनि बिगत तीन महिनामा किलोमै २० रुपैयाँ बढाएको छ । चाडपर्व नजिकिएसँगै बजारमा बाणिज्य विभागको अनुगमन बढेको छ । तर,पनि त्यसले अस्वाभाविक रुपमा बढेको भाउ भने घटाउन मात्रै होइन नियन्त्रण समेत गर्न सकेको छैन ।