आधारभूमि संवाददात
काठमाडौँ, १७ असोज
वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई १३ हजार ८ सय पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९९.२ प्रतिशतले घटेको थियो ।
विदेशमा काम गर्न जानेहरु उल्लेख्य मात्रामा बढ्दा यता रेमिट्यान्समा भने भारि गिरावट देखिएको छ । रेमिटयन्स १८.१ प्रतिशतले कमी आई ७५ अर्ब ९६ करोड कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । जबकी अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स २३.० प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.५ प्रतिशतले कमी आई ६३ करोड ८२ लाख पुगेको राष्ट्र बैंक बताउँछ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.५ प्रतिशतले बढेको थियो ।
पुँजीगत ट्रान्सफर ३८.० प्रतिशतले कमी आई ६७ करोड ९७ लाख रहेकोछ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६५.५ प्रतिशतले कमी आई.४८ करोड ६ लाख कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १ अर्ब १० करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ३९ करोड रहेका थियो ।
त्यस्तै यो वर्षको पहिलो महिनासम्ममा चालु खाता ४७ अर्ब ९० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २४ अर्ब ८९ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २० करोड ७७ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ४० करोड २४ लाखले घाटामा रहेको छ ।
तर, नेपाल बाहिर पढ्न जानेहरुबाट बाहिरिने रकममा भने बृद्धि भएको देखिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार भ्रमण व्यय २ सय १७.९ प्रतिशतले वृद्धि भई ५अर्ब १२ करोड कायम भएको छ । यसमध्ये शिक्षातर्पmको व्यय ३ अर्ब ४७ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय १ अर्ब ६१ करोड रहेकोमा शिक्षातर्फको व्यय १ अर्ब ४१ करोड रहेको थियो ।
अर्थात बिदेश पढ्न जानेहरुका कारण बाहिरिने रकम दोब्बरले बढेको छ । यो वर्षको पहिलो महिना सम्ममा खुद सेवा आय १० अर्ब १२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ३ अर्ब ९ करोडले घाटामा रहेको राष्ट्र बैंकको तथ्यांक छ ।
सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय १ सय १८.६ प्रतिशतले वृद्धि भई १ अर्ब ३३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ६० करोड ८० लाख रहेको थियो ।