काठमाडौ, असोज ११
कोभिड–१९ महामारीबाट उत्थानशील पुनर्लाभ प्राप्त गर्नका लागि नेपाललाई सघाउने प्रतिवद्धता दोहो¥याउँदै दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष श्री हार्टविग सेफरले आज आफ्नो पाँच दिने नेपाल भ्रमण सम्पन्न गरेकाछन ।प्रधानमन्त्री शेर बहादुर देउवा तथा अर्थमन्त्री जनार्दन शर्मासँग अलग अलग भेट गर्दे उपाध्यक्ष सेफरले नेपालको कोभिड–१९ खोपको तिव्र विस्तार तथा आर्थिक पुनुरूत्थानमा जोड सहितको कोभिड प्रतिकार्यको सराहना गरे । उक्त बैठकहरूले सुधार कार्यान्वयन तथा द्रुत लगानी र नेपालको दिगो विकासका लागि उच्च सहकार्यको महत्वलाई समेत जोड दिएका थिए ।
२०७२ सालको भुकम्प लगायतका विविध आघातहरूबाट थप सशक्तरूपमा माथी उठेको र कोभिड–१९ महामारीबाट पनि थप सबल पुनर्निर्माणका लागि एउटा स्पष्ट नीति सहित काम गरिरहेको नेपाल वास्तवमै उत्थानशीलताको एउटा बलियो दृष्टान्त हो, हार्टविग सेफरले भने । विकासका लागि नेपालको साझेदार हुनुमा विश्व बैंक गर्व गर्छ र नेपालको हरित, उत्थानशील र समावेशी पुनुरूत्थानका लागि हामी सरकार, विकास साझेदारहरु, निजी क्षेत्र, नागरिक समाज, र अन्य प्रमुख सरोकारवालाहरु मिलेर काम गर्न प्रतिवद्ध छौं । उनले भने ।
नेपालको हरित, उत्थानशील र समावेशी विकास सम्बन्धी गत असोज सात गते आयोजना गरिएको उच्च स्तरीय सम्मेलनको अवसरमा जारी गरिएको काठमाडौं घोषणापत्रमा हस्ताक्षर गर्न विश्व बैंक नेपाल सरकार र विकास साझेदारहरुको साथमा सहभागी भएको थियो । उक्त घोषणापत्रले ग्रिड भिजन प्रतिको नेपाल सरकारको प्रतिवद्धतालाई उजागर गर्दै सम्भावित प्राथमिकता लगानी, बजार प्रोत्साहन र नीतिहरु, संस्थागत कार्य लगायतका क्षेत्रहरू तथा ग्रिडतर्फको नेपालको यात्राका लागि आवश्यक सूचनाहरू सहित साझेदारहरूको सहयोगलाई एकतावद्ध गरेको छ ।
विकासको एक नयाँ आयाम तर्फ लम्केकोमा म नेपालको प्रसंशा गर्न चाहन्छु, त्यो नयाँ आयाम नेपालको हरित, उत्थानशील र समावेशी विकासको खाका अर्थात ग्रिड हो । ग्रिड अवधारणाले जनता, पृथ्वि र नेपालको अर्थव्यवश्थाका लागि छोटो, मध्यम, तथा दीर्घकालीन रूपमा फाइदा प्रदान गर्नेछ । उपाध्यक्ष सेफरले भने । नेपालको दिगो विकासलाई सुदृढिकरण गर्नका लागि काठमान्डौं घोषणापत्रमा समर्थन र सहयोग गर्न पाउँदा विश्व बैंक निकै हर्षित छ ।
प्रादेशिक मुख्यमन्त्रीहरु र मेयरहरु, र निजी क्षेत्रका प्रतिनिधिहरु सँगको पनि बैठकहरुमा पनि उपाध्यक्ष श्री सेफर सहभागी हुनुभएको थियो । उनले प्रस्तावित माथिल्लो अरूण जलविद्युत आयोजना निर्माणस्थल तथा प्रदेश नं १ मा ढल्केबर सबस्टेसनको पनि भ्रमण तथा अवलोकन गरे । विश्व बैंकले प्रस्तावित माथिल्लो अरूण जलविद्युत आयोजनाको विकासका लागि तथा नेपाल–भारत उच्च भोल्युमको सिमापार विद्युत व्यापारलाई सहजीकरण गर्नका लागि नेपालकै सबैभन्दा ठूलो ढल्केबर सबस्टेशनको लागि सम्भाव्यता अध्ययन कार्यमा सहयोग गरिरहेको छ ।
भ्रमणको अन्त्यमा सेफरले फेडरेशन इन्टरनेशनल दि अटोमोवाई (एफआईए) तथा नेपाल अटोमोबाइल स्पोर्टस् असोशिएसनको साझेदारीमा सडक सुरक्षामा सचेतना बढाउने हेतुले आयोजित एक विशेष कार्यक्रममा भाग लिए । उक्त कार्यक्रमले राष्ट्रसंघ द्वारा स्विकृत हेलमेट प्रयोगका लागि पैरवी गरेको थियो । यी हेलमेटहरू दुईपांग्रे सवारी चालकहरूका लागि प्रमाणित तथा किफायती छन् । भौतिक पूर्वाधार र यातायात मन्त्रालयको साझेदारीमा हाल चलिरहेको सडक सुरक्षा अभियान को एक अंशको रूपमा सो कार्यक्रमको आयोजना गरिएको थियो ।