neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • विश्वका हिन्दू आकर्षित गर्न पशुपति क्षेत्र स्वच्छ अभियान

विश्वका हिन्दू आकर्षित गर्न पशुपति क्षेत्र स्वच्छ अभियान

Sep 25th, 2021

काठमाडौँ, ९ असोज /रासस

विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई मुख्य गन्तव्यस्थल बनाउने उद्देश्यले पशुपति स्वच्छ अभियान सुरु भएको छ । पशुपति क्षेत्र विकास कोषको आयोजनामा सुरु गरिएको अभियानमा आज चलचित्र कलाकार सङ्घको नेतृत्वमा पशुपति क्षेत्र सफा गरिएको हो । सफाइमा मदनदास श्रेष्ठ, शिव श्रेष्ठ, गौरी मल्ल, चलचित्र निर्देशक शोभित बस्नेत, रविन्द्र खड्कालगायतको सहभागिता थियो।

कोरोना महामारीका कारण गत वैशाखदेखि बन्द रहेको पशुपतिनाथ मूल मन्दिर भदौ २५ गते खुला गरिएसँगै कोषले सो अभियान सुरु गरेको हो । कोरोनाका कारण निषेधाज्ञा जारी गरिएका बेला पशुपति क्षेत्रका सबै स्थानमा जम्मा भएको फोहर उठाउन अभियानबाट सहयोग मिल्ने विश्वास गरिएको छ ।

कोरोनाबाट निधन भएकालाई पशुपति क्षेत्रकै विद्युतीय शवदाह गृहमा जलाउने गरिएकाले यहाँ फोहर बढेको थियो । फोहर सफा गर्न कोषका सफाइ कर्मचारीले मात्र नभ्याउने भएकालेसुरु गरिएको अभियानमा पशुपतिको घाट क्षेत्र र वाग्मती नदी किनार क्षेत्र सफा गरिएकोे कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताउनुभयो ।

यो अभियान प्रत्येक हप्ता गरिने र आज बिहान दुई घण्टा सफा गरिएको थियो । अभियानमा सहभागी हुन चाहने हरेक क्षेत्रका नागरिकले शनिबार स्वयंसेवा गर्न सक्ने कोषका सदस्य सचिव डा मिलनकुमार थापाले बताउनुभयो । विभिन्न क्षेत्रका मानिसले पशुपति क्षेत्रमा सफाइका लागि रुचि देखाउन थालेकाले पहिलोपटक गत हप्ता वाग्मती सफाइ महाअभियानका आयोजकले नै पशुपति क्षेत्रमा सफा गरेको थियो ।

अभियानको दोस्रो हप्ता आज कलाकारले नेतृत्व लिएका हुन् । आगामी हप्तामा पनि विभिन्न क्षेत्रका पदाधिकारीको सहभागितामा रहने भएको छ । यसबाट नेपालको धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने र कोरोनाले अस्तव्यस्त बनेको पर्यटन क्षेत्र उठाउन पनि यो अभियान सहयोगी हुने विश्वास गरिएको छ ।अभियानमा पशुपति क्षेत्रका पशुपति सृजनशील युवा क्लब, डिभाइन क्लब, पशुपति युथ क्लब, विजयचोक युवा क्लब, साइन्टोलोजी भोलेन्टियर नेपाललगायत स्वयंसेवी युवाको सक्रियता थियो । यी संस्थाले पशुपति स्वच्छ अभियानमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।पशुपतिनाथ दक्षिण मूलढोकाबाट सुरु गरिएको आजको अभियान किरियापुत्री भवन हुँदै आर्यघाट क्षेत्रमा आएर समापन गरिएको थियो ।

वाग्मती सफाइ महाअभियान ४३७ औँ हप्तामा

यसैगरी वाग्मती सफाइ महाअभियानको ४३७ औँ हप्ताको सफाइ पनि पशुपति क्षेत्रस्थित तिलगङ्गा नदी किनारमा गरिएको छ । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, अभियानकर्मी डा राजु अधिकारीलगायत १५० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।

सफाइ गरे पनि फोहर लैजाने काठमाडौँ महानगरपालिकाको गाडी नआउने गरेकाले नदी किनारमै फोहर थुप्रने गरेको छ । महानगरपालिकाका सडक एवं चोकमा थुप्रिएका फोहर अझै नियमितरुपमा नउठाइदा दुर्गन्ध फैलिएको छ ।स्थानीय सरकारले सफा गर्नुपर्नेमा अभियानकर्मीले टिपेर थुपारिदिएको फोहर पनि व्यवस्थापन गर्न नसकेको भन्दै सफाइकर्मीले गुनासो गरेका थिए ।

गुह्येश्वरीमाथिको अभियान ४०६ औँ हप्तामा

गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको ४०६औँ हप्तामा गोठाटार पुल क्षेत्रमा सफाइ गरिएको थियो । कुहिने फोहरलाई जमिनमुनि गाडिएको र नकुहिने प्लाष्टिकजस्ता फोहरलाई बोतलमा राखेर इँटा बनाउन प्रयोग गरिएको सफाइ अभियानकर्मी एवं वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले राससलाई जानकारी दिनुभयो । मञ्चले मुहानदेखिकै वाग्मती सफाइ गर्ने नाराका साथ अभियानलाई निरन्तरता दिँदै आएको छ ।

यसैगरी उपत्यकाका रुद्रमती, विष्णुमतीको माथिल्लो र तल्लो भाग, मनोहरा तथा चक्रपथको उत्तरी र पश्चिमी खण्डलगायत स्थानमा पनि सफा गरिएको थियो । विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएपछि यसका सहायक नदीका साथै चक्रपथ सफाइ अभियान पनि सुरु गरिएको थियो । हाल उपत्यकाका २५ स्थानमा प्रत्येक हप्ता शनिबार बिहान दुई घण्टा देशका लागि स्वयंसेवा भन्ने नाराका साथ सफाइ भइरहेको छ ।

यसैगरी काठमाडौँ उपत्यका बाहिर मुख्य शहर, नदी एवं सांस्कृतिकस्थलमा पनि वाग्मतीकै प्रेरणाले सफाइ भइरहेको छ । सफाइ महाअभियानले देशव्यापी जागरण ल्याए पनि स्थानीय सरकारले सहयोग नगरेको सफाइ अभियानकर्मीको गुनासो थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi