neapl investment mega bank
  • गृहपृष्ठ
  • सोधनान्तर घाटा बढेपछि मुलुकको बिदेशी बिनिमय सञ्चितीमा चाप, ८.३ महिनाको मात्रै आयात धान्ने सञ्चिती

सोधनान्तर घाटा बढेपछि मुलुकको बिदेशी बिनिमय सञ्चितीमा चाप, ८.३ महिनाको मात्रै आयात धान्ने सञ्चिती

Sep 24th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, असोज ८

आयात चुलिदै गएपछि देशमा भित्रिने रकमको तुलनामा बाहिरिने रकम ह्वात्तै बढेको छ । यसरी बाहिरिने रकम बढेसँगै मुलुकको सोधनान्तर स्थिती ३८ अर्ब ७५ करोडले घाटामा गएको छ । जबकी गत वर्षको असारमा सोधनान्तर स्थिती २ खर्ब ८२ अर्बले बचतमा रहेको थियो ।

गत साउन महिनामा मात्रै आयात १ खर्ब ५० अर्ब ७३ करोडको आयात भएको छ। गत वर्षको तुलनामा यस्तो आयात ७५.७ प्रतिशतले वृद्धि भएको हो । जबकी अघिल्लो वर्षको साउन मसान्तमा आयात १९.६ प्रतिशतले घटेको थियो । पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एम.एस. बिलेटको आयात उच्च मात्रामा बढेको छ ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ५८.७ प्रतिशत, ८७.६ प्रतिशत र १२०.८ प्रतिशतले वृद्धि भएको छ ।

तर मुलुकमा पैसा भित्रिने विप्रेषण आप्रवाहमा भने १८.१ प्रतिशतले कमी आएको छ। घट्दो रेमिट्यान्स र बढ्दो आयातका कारण सोधनान्तर स्थिती घाटामा गएको हो ।

त्यस्तै मुलुकमा रकम भित्राउने निर्यातमा पनि खासै बृद्धि हुन सकेको छैन । आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा कुल वस्तु निर्यात १ सय १५.९ प्रतिशत ले वृद्धि भई २० अर्ब ७६ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८.९ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्पm क्रमशः १६७.० प्रतिशत, ४७.८ प्रतिशत र १७.५ प्रतिशतले निर्यात वृद्धि भएको छ ।

वस्तुगत आधारमा सोयाविन तेल, पाम तेल, धागो (पोलिष्टर तथा अन्य), जुस, पिना लगायतका वस्तुको निर्यात बढेको छ भने अलंैची, आयुर्वेदिक औषधी, जडिबुटी, तार, तयारी छालाका समान लगायतका वस्तुको निर्यात घटेको छ ।

देशबाट बाहिरिने रकम बढेसँगै यसको सिधा असर मुलुकको बिदेशी विनिमय सञ्चितीमा परेको छ । २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३.२ प्रतिशतले कमी आई यो साउनमा १३ खर्ब ५३ अर्ब कायम भएको छ ।

अर्थात यस्तो बिदेशी बिनिमय सञ्चितिले गत असारमा १०.२ महिनाको वस्तु तथा सेवा आयात धान्नेमा अबको सञ्चितीले जम्मा ८.३ महिनाको मात्रै आयात धान्नेछ ।