neapl investment mega bank

रसुवागढीबाट सवारी साधन आयातमा बृद्धि

Sep 23rd, 2021

रसुवा, ७ असोज /रासस

उत्तरी नाका रसुवागढीबाट चीनमा निर्मित सवारी साधन भित्रने क्रम बढ्दै गएको छ ।

गत आवमा रसुवागढी नाकाबाट साना– ठूला गरी ५६८ सवारी साधन स्वदेश भित्रिएका थिए । यस वर्षमा सवारी साधनको आयात भारी मात्राले बढ्ने सङ्केत देखिएको हो । कोभिड रोगको सङ्क्रमण बढेसँगै चिनियाँ सवारी साधन रसुवागढीको मितेरी पुलसम्म चिनियाँ सवारी चालकले ल्याउने गरेको र भन्सार जाँचपास भएपछि नेपाली चालकले आफ्नो गन्तव्यतर्फ लाने गरेको सो कार्यालयका प्रवक्ता नरेन्द्र चौधरीले बताउनुभयो ।

निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनाको लागि आवश्यक पर्ने उपकरणसमेत रसुवागढी नाकाबाट आयात भइरहेको कार्यालयले जनाएको छ । आयात हुने अन्य सामग्रीमा तयारी पोशाक, मोबाइल फोन, जुत्ता, चप्पल, कम्युटरका पार्टस, विद्युतीय पार्टपुर्जा, स्याउ, ओखर, लसुन, थर्मसलगायत छन् ।

यस्तै बडादशैँ नजिकिँदै व्यवसायीले स्याउ आयातमा समेत तिव्रता दिन थालेका छन् । यही असोज १ गतेदेखि आजसम्म २४ कन्टेनर अर्थात् २४० टनभन्दा बढी परिमाणको स्याउ आयात भइसकेको छ । व्यवसायी धर्म पौडेलका अनुसार नेपाली बजारको माग आपूर्ति सहज पार्न फलफूलको साथसाथै सवै प्रकारका सामग्री आयातको व्यवस्थापनमा व्यापारी व्यवसायी व्यस्त छन् ।

उत्पादक कम्पनीलाई समान माग गरेपश्चात् छिटो छरितो तवरले चिनियाँँ मुसा टासपोर्ट कम्पनीले रसुवागढीसम्म ढुवानी गर्ने गरेको बताइन्छ । चालु आवको साउनदेखि हालसम्म चीनबाट आयात भएका सामग्रीबाट नियमानुसारको शुल्कबापत कूल रु एक अर्ब ५९ लाख नौ हजार ४८ राजस्व असुली भएको छ । इन्टरनेट तथा विद्युत्को अवरोध भइरहँदा आयात भएका सामग्रीको जाँचपासका कठिन भएको छ ।

रसुवामा प्राय सवै प्रकारका प्रविधि भित्रिए पनि दिगो र भरपर्दो हुन सकेको छैन । इन्टरनेटकै अभावमा भन्सार राजस्व असुलीमा बाधा पुगि रहेको भन्सार कार्यालयले जनाएको छ । कार्य सञ्चालन गर्न विद्युत्का लागि जेनेटर प्रयोग गर्ने गरिएको र इन्टरनेट सञ्चालनको लागि नेपाल टेलिकमसँग अनुरोध भइरहेको प्रमुख भन्सार अधिकृत रेग्मीले जानकारीदिनुभो । अधिकांश समय स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको राजमार्ग अवरूद्ध भइरहँदा जाँचपास भएका मालबाहक सवारी साधन पार गराउन तीन दिन लाग्ने समस्या भइरहेको बताइन्छ ।