आधारभूमि संवाददाता
काठमाडौँ, ६ असोज
सनराइज बैंकले गत भदौसम्म १ वर्षे मुद्दति निक्षेपमा ७ प्रतिशत ब्याज दिएकोमा अहिले त्यसलाई बढाएर १० दशमलव शुन्य सात प्रतिशत पुराएको छ । अर्थात बैकहरुले निक्षेपको ब्याज बढाएर १० प्रतिशत बनाउने क्रम अब सुरु भएको छ ।
लगानी गर्ने अन्य बाटाहरु बन्द भएपछि सेयरबजारमा लगानीकर्ता ओइरिएका थिए । तर, अब बिस्तारै लगानीका अन्य बाटाहरु खुल्न सुरु गरेका छन् । जसका कारण लगानी अन्य क्षेत्रतिर नै केन्द्रित हुने देखिएको छ । यसले सेयरबजार अब ओरालो लाग्ने देखिन्छ । किनभने बैंकको ब्याजदर सेयरबजारको सम्वन्ध ठ्याक्कै उल्टो हुन्छ ।
बैंकहरुले एक आपसमा लिने ऋण अर्थात अन्तर बैंक ब्याजदर नै चार प्रतिशत भन्दा माथि पुगेको छ । साथै एक बैंकबाट अर्काे बैंकले यस्तो निक्षेप समेत पाउन छाडेको बैंकर्स बताउँछन् ।
कोरोना महामारी पछि बिस्तारै खुलेको बजारका कारण कर्जा प्रवाह बढेको छ । तर , कर्जा बिस्तारको अनुपातमा निक्षेप बढ्न सकेको छैन । बरु कर्जा त घट्दो क्रममा छ । गत असारको तुलनामा करिब ३० अर्ब बराबरको निक्षेप घटेको बैंकर्सहरु बताउँछन् ।
अर्थात महामारी खुुलेसँगै कैयनले बैंकबाट रकम निकालेर अन्य व्यवसाय गर्न सुरु गर्न थालेका छन् । साथै कैयनले ऋण नै लिएर पनि व्यवसाय गर्न सुरु गरेका छन् ।
महामारीका कारण ब्यापार व्यवसाय खासै हुन सकेको थिएन । जसका कारण ब्यापारीहरुले बैंकमा लगेर जम्मा गर्ने नै गरि नाफा कमाउन सकेका छैनन् ।
बैंकमा कम ब्याजदरमा पैसा आउन छाडेपछि बैंकहरुले ब्याजदर बढाएका हुन् । महामारीका कारण ओरालो लागेको ब्याजदर अब बिस्तारै उकालो लाग्न थालेको छ ।
निक्षेपको ब्याज बढेसँगै अब कर्जाको पनि ब्याज बढ्नेछ । कर्जाको ब्याज बढ्दा भने यसले आन्तरिक बजारको उत्पादन लागत बढाउनेछ । तर, बढ्दो ब्याजका कारण ग्राहकले बचत गर्ने बानीको पनि बिकास हुने देखिन्छ ।