neapl investment mega bank
  • गृहपृष्ठ
  • मेरो उम्मेदवारी सभापतिमा हुन्छ : महामन्त्री डा कोइराला

मेरो उम्मेदवारी सभापतिमा हुन्छ : महामन्त्री डा कोइराला

Sep 11th, 2021

नवलपुर, २६ भदौ /रासस

नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले १४औँ महाधिवेशनमा आफू सभापति पदमा उम्मेदवार हुने घोषणा गर्नुभएको छ । आज नेपाली कांग्रेस देवचुली नगरपालिकाको पार्टी कार्यालय उद्घाटन गर्दै महामन्त्री कोइरालाले कुनै पनि हालतमा आफ्नो उम्मेदवारी सभापति पदमा कायम रहने घोषणा गर्नुभएको हो ।

“गिरिजा बाबुले जसरी बिराटनगर गएर आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको थियो, मैले पनि मेरो गृह जिल्ला नवलपुर आएर आज सभापति पदको लागि उम्मेदवारी घोषणा गर्दछु”, महामन्त्री डा कोइरालाले भन्नुभयो, “सकेसम्म सहमतिमा नेतृत्व चयन गर्नुपर्छ भन्ने मेरो धारणा हो । तर, सहमति हुन नसके निर्वाचनबाटै भए पनि नेतृत्व चयन गरेर अगाडि बढ्नु लोकतान्त्रिक पद्धति हो ।” उहाँले पार्टीलाई एकढिक्का बनाएर लैजानुको विकल्प नभएकोमा समेत जोड दिनुभएको थियो ।

देवचुली नगरपालिकाको दलदले बजारमा रहेको बीपी स्मृति भवनमा नेपाली कांग्रेस देवचुली नगरपालिकाले पार्टी कार्यालय स्थापना गरेको हो । सो कार्यक्रममा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यसमेत रहेका उहाँले आगामी सङ्घीय निर्वाचनमा पनि नवलपुरबाटै निर्वाचन लड्ने समेत घोषणा गर्नुभयो । यसअघिका तीन पटकका निर्वाचनमा यहाँका जनताले आफूलाई जिताएको प्रसङ्ग उल्लेख गर्दै डा कोइरालाले आगामी निर्वाचनमा नवलपुरवासीले जिताउनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

“नवलपुरको विकासका लागि मैले सारेका तीन वटा कुरामध्ये बीपी अन्तर्राष्ट्रिय खेल मैदान र ट्रमा सेन्टरको काम अघि बढिसकेको छ”, डा कोइरालाले भन्नुभयो, “नारायणी नदीमा वैकल्पिक मार्गका लागि काम अगाडि बढाउँदैछु, त्यसले चाँडै नै मूर्तरूप लिनेछ ।”