neapl investment mega bank
  • गृहपृष्ठ
  • श्रम बजार सूचना प्रणाली सम्बन्धी कार्यशाला सम्पन्न

श्रम बजार सूचना प्रणाली सम्बन्धी कार्यशाला सम्पन्न

Sep 10th, 2021

काठमाडौ, भदौ २५

नेपालको श्रम बजारको आवश्यकता श्रमिक आपूर्तिको अवस्थाका विषयमा श्रम बजार सूचना प्रणाली सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । निजी क्षेत्रका पाँचवटा छाता संगठनको सहभागितमा सञ्चालन भइरहेको इम्प्लोएर्स लेड लेबर मार्केट सचिवालय (इएलएमएस) परियोजनाले कार्यशाला आयोजना गरेको हो ।

श्रम बजार सूचना प्रणालीलाई संस्थागत गर्ने र श्रम बजारको सूचना संकलन गर्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको छ । यस कार्यक्रमले नेपालको श्रम बजारमा उपलब्ध श्रमिकको अवस्थाबारे जानकारी दिनेछ । कार्यशालामा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले रोजगारीका अवसर खोजिरहेका व्यक्तिहरू र रोजगारदाताको सम्बन्ध स्थापित गर्न यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । उनले निजी क्षेत्रका पाँचवटा संस्थाको सहकार्यमा अघि बढेको यो कार्यक्रम भविष्यका लागि समेत उदारहण हुने उल्लेख गरे ।

कार्यक्रममा होटल संघ नेपालकी अध्यक्ष सिर्जना राणा, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह रनेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष सुकुन्तलाल हिराचनले नेपाली श्रम बजारको आवश्यकता र श्रम शक्तिको आपूर्तिको जानकारी दिन यसले सहयोग गर्ने उल्लेख गरे । उनीहरूले नेपालमा श्रम शक्तिको आवश्यकताको जानकारी नहुँदा नेपाली श्रमिक विदेश जानुपर्ने र विदेशीहरूले नेपालमा आएर काम गर्नुपर्ने अवस्था रहेको बताए । नेपालमा दीर्घकालीन् रूपमा बेरोजगारीको समस्या समाधानका लागि यस कार्यक्रमले सहयोग गर्ने उनीहरुको भनाइ छ ।

परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले नेपालमा प्रतिस्पर्धी र सीपयुक्त जनशक्तिको ठूलो अभाव रहेको उल्लेख गर्दे संस्थागतरूपमा क्षमता विकासमा काम गर्नुपर्ने उल्लेख गरे । यस परियोजनाअन्तर्गत निर्माण, कृषि र पर्यटन क्षेत्रसँग सम्बन्धित १०/१० वटा पेशा छनौट गरी ती पेशासँग सम्बन्धित पेशागत मापदण्ड तयार हुनेछ । रोजगारदाता र दक्ष कामदारको प्रत्यक्ष संलग्नतामा पेशागत मापदण्ड तयार गरी त्यसलाई भविष्यमा बजारको मागअनुरूपका पाठ्यक्रम निर्माणका लागि सहयोगी बनाउने परियोजनाको उद्देश्य छ ।

श्रम बजार सूचना प्रणालीको विकासका लागि पनि परियोजनाले काम गर्नेछ । यसअन्तर्गत पाँचवटा छाता संगठनका करिब तीन हजार सदस्य प्रतिष्ठानको सक्रिय सहभागितामा अध्ययन गरिनेछ । यो अध्ययनपछि श्रम बजारको वास्तविक सूचनासहित ’श्रम बजार सूचना प्रणाली पोर्टल’को विकास गरिनेछ। यस पोर्टलमार्फत नेपालको श्रम बजारको वास्तविक सूचना निजी क्षेत्र, सरकारी निकाय र सरोकारवालालाई महत्वपूर्ण हुनेछ ।

युरोपेली युनियनको आर्थिक सहयोग र ब्रिटिस काउन्सिल अन्तर्गतको दक्षता कार्यक्रमको व्यवस्थापकीय सहयोगमा यो कार्यक्रम सञ्चालन भइरहेको छ । कार्यक्रममा पाँच वटै छाता संगठनका पदाधिकारी एवं वस्तुगत, प्रदेश र जिल्ला सदस्य संस्थाका प्रतिनिधिको उपस्थिति थियो ।