neapl investment mega bank
  • गृहपृष्ठ
  • मर्जर नीतिको एक दशक : २ सय २९ संस्था मर्जर हुँदा १ सय ७१ संस्थाको इजाजत खारेज

मर्जर नीतिको एक दशक : २ सय २९ संस्था मर्जर हुँदा १ सय ७१ संस्थाको इजाजत खारेज

Sep 7th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, भदौं २२

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्त संस्थालाई गाभ्ने नीति २०६८मा अघि सार्याे । त्यसयता २०७८ असार मसान्तसम्म कुल २ सय २९ बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने÷गाभिने प्रक्रियामा सामेल भएका छन् । यीमध्ये १ सय ७१ संस्थाहरुको इजाजत खारेज भई ५८ संस्था कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यसरी गाभ्ने तथा गाभिने प्रक्रियामा अधिकांश बिकास बैंक र बित्त कम्पनीको संख्या ठूलो मात्रामा घटेको छ । बाणिज्य बैक र बाणिज्य बैंक मर्जरमा जाने भन्दा पनि उनिहरुले आफ्नो पुँजी पुराउनका लागि बिकास बैक र बित्त कम्पनी एक्वायर गनृे क्रम बढ्यो ।

नेपाल राष्ट्र बैंकका अनुसार अहिले पनि २३ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जरको पाइपलाइनमा छन् । मर्जर तथा प्राप्तिको प्रारम्भिक सम्झौता गरी बसेका बैंक तथा वित्त संस्थामा अधिकांश लघुबित्त कम्पनी रहेका छन् । यसअघि बिकास बैंक र बित्त कम्पनीको संख्या घटाएको नेपाल राष्ट्र बैंकले अब भने फेरी लघुबित्त कम्पनीको संख्या घटाउन लागेको छ ।

हिमालयन तथा इन्भेष्टमेन्ट बैंक मात्रै बाणिज्य बैंकहरुमा मर्जरमा अघि बढेका बैंक हुन् । मर्जर तथा प्राप्तिको प्रारम्भिक सम्झौता गरी राष्ट्र बैंकमा आएपनि केहीले संस्थाहरुले अन्तिम स्वीकृतिका लागि आवश्यक प्रक्रिया पूरा गर्न नसकेकाले मर्जरमा जाने सम्झौता गरेका तर मर्जर हुन नसकेका बैंक तथा वित्त संस्थाको संख्या ठूलो रहन गएको हो ।

गत जेठ ६ गतेदखि हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक राष्ट्र बैकमा अन्तिम स्वीकृतको पर्खाइमा छन् । यी बैंकलाई राष्ट्र बैंकले जेठ २० गते नै सैद्दान्तिक (एलओआइ) दिइसकेको छ ।

त्यस्तै, गरिमा विकास बैंक र साहारा विकास बैंकले गत आवको असोजमा नै राष्ट्र बैंकमा मर्जरको आवेदन दिएका थिए । यी बैंकले सैद्दान्तिक सहमित पाए पनि अन्तिम स्वीकृतको लागि भने आन्तरिक छलफलले नै टुंगो लगाउन सकेको छैन । बिजया लघुवित्त र खप्तड लघुवित्तलाई यसअघि नै दिइएको सैद्धान्तिक सहमति भने राष्ट्र बैंकले रद्द गरिसकेको छ ।

मर्जर तथा प्राप्तिको स्वीकृतिको आवेदन दिएका बैंक तथा वित्तीय संस्थाले सैद्दान्तिक स्वीकृति दिएको ३ महिनाभित्र आवश्यक अन्य प्रक्रिया पूरा गरिसक्नु पर्छ । सोही अनुसार राष्ट्र बैंकले एकिकृत कारोबारको अन्तिम स्वीकृति दिन्छ ।

त्यस्तै धौलागिरी लघुवित्त र आँधीखोला लघुवित्तको मर्जरको प्रक्रिया अन्तिम स्वीकृतिको लागि प्रक्रिया पुरा नगर्दा मर्जर नै रद्द हुने देखिन थालेको छ । मिरमिरे लघुवित्त र सिर्जना लघुवित्त पनि मर्जरको प्रक्रिया छन् । त्यस्तै स्वास्तिक लघुवित्त र समाज लघुवित्त मर्जरको पाइपलाइनमा छन् । यी संस्थाहरुलाई राष्ट्र बैंकले मर्जरको सैद्दान्तिक स्वीकृति दिइसकेको छ ।