सुर्खेत, भदौ १६
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सुर्खेतको काल्चे पुगेर लोपउन्मुख राउटे समुदायसँग भेट तथा अवस्था अवलोकन गरेकाछन । कार्यक्रमको सिलसिलामा सुर्खेत आएका अध्यक्ष तिमिल्सिनाले सुर्खेत र सल्यान जिल्लाको सिमानामा पर्ने गुर्वाकोट नगरपालिकाको काल्चेमा मंगलबार पुगेर राउटे समुदायको अवस्था र समस्या बुझेका थिए । घुमन्ते राउटे बस्तीमा पुगेर अध्यक्ष तिमिल्सिनाले समुदायको संस्कृति र परम्पराको संरक्षण गर्दै बासस्थान, स्वास्थ्य, शिक्षा र आत्मनिर्भर बनाउनेतर्फ जोड दिनुपर्ने बताए ।
’सरकारले दिएको राहत वा विभिन्न तरिकाले आउने आर्थिक सहयोगले मात्रै यो समुदायको उन्नती हुँदैन,’ उनले राउटे समुदायका मुखियासहितको टोलीसँग भने । राज्यले स्थायी बसोबासको व्यवस्था गर्दा एकठाउँमा बस्ने, सरसफाइ तथा स्वास्थ्यमा ध्यान दिनुपर्छ ।’ राउटे समुदायलाई राज्यबाट आउने सहयोग पर्याप्त भएपनि त्यसको उचित प्रयोग र व्यवस्थापन नभएसम्म उनीहरुको अवस्थामा सुधार नहुने बताए ।
कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीसहितको टोलीसँग त्यहाँ पुग्नुभएका अध्यक्ष तिमिल्सिनाले राउटे समुदाय व्यवस्थित बस्ती बनाएर एक ठाउँ बस्न तयार भए सरकार समक्ष आफूले पहल गर्ने बताए ।