neapl investment mega bank
  • गृहपृष्ठ
  • जगदम्बा स्टीलमा भएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीलाई कारवाही गर्न माग

जगदम्बा स्टीलमा भएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीलाई कारवाही गर्न माग

Aug 31st, 2021

काठमाडौ, भदौ १५

वीरगंज पथलैया औद्योगिक कोरिडर, सिमरामा रहेको जगदम्बा स्टील प्रा.लि.मा मिति २०७८ भदौं ११ गते विहान तोडफोड गर्ने गरी भएको ध्वंसात्मक कार्यप्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघ उक्त कार्यको घोर निन्दा एवं भत्सर्ना गरेको छ ।

स्थानीय तहमा संचालित उद्योग व्यवसायले स्थानीय जनतालाई रोजगारीका साथै त्यस क्षेत्रका जनताको आर्थिक जीवनस्तर सुुधारमा समेत निकै ठूलो सहयोग पुरयाईरहेको यथार्थता जगजाहेर छ । तर उद्योग समस्यामा परेको मौका छोपी स्थानीय जनता नै जवरजस्ती उद्योग परिसरमा प्रवेश गरी उद्योगका महत्वपूर्ण सरसामान, मेसिनहरू, पार्किङ गरी राखिएका सवारीसाधनहरू तोडफोड गरी ध्वस्त बनाउनुु अत्यन्त दुःखद कुरा हो । भदौ ११ गते विहान १०ः१५ बजे उद्योगको अमोनिया ग्यांस टयांकबाट ग्यास लिक भई भएको घटना लगत्तै उद्योग परिसरभित्र स्थानीयहरू वलजफती प्रवेश गरी उद्योगमा तोडफोड भएको उद्योगले जनाएको छ । वार्ताबाट समस्या समाधान गर्न सकिने अवस्था हुदाहुदै तोडफोड हुनु दुर्भाग्यपूर्ण हो, महासंघले भनेको छ ।

यसले एकातिर उद्योग र स्थानीय जनता बीचको आपसी विश्वासमा कुठाराघात गर्छ भने अर्कोतिर उद्योगी व्यवसायीको मनोवल खस्कने, लगानी निरूत्साहित हुने र स्वदेशी एवं विदेशी लगानीकर्तामाझ नकारात्मक संदेश जानेतर्फ महासंघको गम्भीर चिन्ता छ ।

अतः यस्ता कार्यमा संलग्नहरूको तत्काल पहिचान गरी दोषीलाई कानूनका दायरामा ल्याई कारवाही गर्न र उद्योग पूर्वावस्थामै संचालन गरी औद्योगिक वातावरण निर्माणमा सहयोग हुन महासंघ संघीय सरकार सहित तीनै तहका सरकार समक्ष गम्भीर आग्रह गर्दछ, महासंघले बिज्ञप्ती जारी गर्दे भनेको छ ।