neapl investment mega bank
  • गृहपृष्ठ
  • बाघको छाला, खप्पर, हड्डी लगायतका अंग सहित तीन जना पक्राउ

बाघको छाला, खप्पर, हड्डी लगायतका अंग सहित तीन जना पक्राउ

Aug 29th, 2021

तनहुँ, भदौ १३

ब्यास नगरपालिका–५ पतेनीस्थित पक्की पुल नजिक बाख्रेतर्फ जाने कच्ची सडकबाट बाघको अवैध छाला, खप्पर, हड्डी लगायतका अंग सहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही नगरपालिका–६ सिरुबारी बस्ने ३९ वर्षीय अर्जुन श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका–१ ओखल्दी बस्ने ४० वर्षीय सन्जित गुरुङ र सोही नगरपालिका–१ रतनपुर बस्ने ३२ वर्षीय सन्तोष गुरुङ रहेका छन् ।

उनीहरुमध्ये अर्जुनको साथबाट २ थान बाघको छाला, बा.४९ प ५९२३ नम्बरको स्कुटर, १ थान मोबाइल र नगद १ हजार रुपैयाँ , सन्जितको साथबाट १ सय २२ वटा बाघको हड्डीहरु, ग.१८ प ५४११ नम्बरको मोटरसाइकल, १ थान मोबाइल र नगद २ हजार रुपैयाँ र सन्तोषको साथबाट बा.३५ प ५४५१ नम्बरको मोटरसाइकल, नगद ३ हजार ५ सय ८५ रुपैयाँ, १थान लाइटर र १ थान मोबाइल प्रहरीले बरामद गरेको छ ।

सोही ठाउँस्थित सडकमा शंकास्पद गतिविधि गरिरहेका उनीहरुलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंज र जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त अंगहरु सहित फेला पारी पक्राउ गरेको हो । उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला बन कार्यालय, दमौली तनहुँमा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।