neapl investment mega bank
  • गृहपृष्ठ
  • निर्माण व्यवसायीहरूलाई यथाशक्य चाँडो कोभिड खोप : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

निर्माण व्यवसायीहरूलाई यथाशक्य चाँडो कोभिड खोप : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

Aug 19th, 2021

काठमाडौ, भदौ ३

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले निर्माण व्यवसायीहरूलाई यथाशक्य चाँडो कोभिड—१९ विरुद्धको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएकाछन । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग विहिवार भएको भेटमा राज्यमन्त्री श्रेष्ठले अग्रपङक्तिमा खटिने निर्माण व्यवसायीहरूका लागि खोप अनिवार्य भएको बताए ।

महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले स्वास्थ्य राज्यमन्त्री नियुक्त हुनु भएकोमा श्रेष्ठलाई बधाई दिँदै उनको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको छ । महासंघ प्रतिनिधिमण्डललाई राज्यमन्त्री श्रेष्ठले भौतिक पूर्वाधारको क्षेत्रमा खटिएका व्यवसायीहरूले यसअघि नै खोप पाइसक्नुु पर्ने बताए । राज्यमन्त्री श्रेष्ठले असोज महिनासम्ममा एक तिहाइ जनता र आगामी चैत्र सम्ममा देशका सबै नागरिकलाई कोभिड विरुद्धको खोप दिइने जानकारी दिए । निर्माण उद्योगले देशको कुल बजेटको ६० प्रतिशत खर्च गरिरहेको जानकारी गराउँदै महासंघ अध्यक्ष सिंहले आ–आफ्नो साइटहरुमा निर्माण व्यवसायीहरूले कोभिडको उच्च जोखिमकाबीच अग्रपङक्तिमा अहोरात्र खटिदै काम गर्दै आएको जानकारी गराए ।

विकास निर्माणका कार्यहरू नियमित संचालन गरी देशको अर्थतन्त्रलाई चलायमान बनाई राख्न पनि निर्माण उद्योगमा आबद्ध देशभरका व्यवसायीहरूलाई खोप अनिवार्य भएको अध्यक्ष सिंहले बताए । महासंघ प्रतिनिधिमण्डले अघिल्लो बजेटमा उल्लेख भए बमोजिम निर्माण आयोजनाहरूको म्याद थप, धरौटी रकम फिर्ता लगायतका विषय सम्बोधन गरिदिन स्वास्थ्य राज्यमन्त्री समक्ष आग्रह गरेको छ । महासंघ प्रतिनिधिमण्डलमा उपाध्यक्षद्वय एडी लामा, टेकबहादुर सेठी, कोषाध्यक्ष हिरणकुमार श्रेष्ठ, कार्यसमिति सदस्य यज्ञप्रसाद खतिवडा, कार्यालय प्रमुख प्रेमसिंह ऐर, उपनिर्देशक आसित अधिकारी लगायतको सहभागिता रहेको थियो ।