काठमाडौ, साउन २७
अर्थमन्त्री जनार्दन शर्मा ’प्रभाकर’ ले मंगलबार संसदमा प्रस्तुत गर्नुभएको ’देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ सम्बन्धी नेपालको अर्थतन्त्रको वर्तमान अवस्थाको चित्रण गरेको छ । सो जानकारीपत्रमा कोभिड–१९ ले पारेको प्रभाव, कमजोर सरकारी खर्च, कूल गार्हस्थ्य उत्पादनमा उत्पादनमूलक उद्योगको कमजोर हिस्सा, बढ्दो उपभोग एवं कमजोर बचत र पूर्वाधार निर्माणमा भएको ढिलाईलाई चित्रण गरिएको हो ।
जानकारीपत्र मार्फत उत्पादनमूलक उद्योगको कूल गार्हस्थ्य उत्पादनमा योगदान ५.१ प्रतिशतमा सिमित भएको तथ्य नेपाल सरकारले नै स्वीकार गरेको छ । यस अवस्थामा नेपाललाई औद्योगीकरणको बाटोमा लैजान र कूल गार्हस्थ्य उत्पादनमा उत्पादनमूलक उद्योगको हिस्सा बढ्ने गरी काम गर्न नेपाल उद्योग परिसंघ सरकार समक्ष अनुरोध गरेको छ ।
नेपाललाई औद्योगीकरणको बाटोमा अघि बढाउन परिसंघले ’मेक इन नेपाल – स्वदेशी’ अभियान अघि बढाएको छ । यस अभियानको मुख्य लक्ष्य नै सन् २०२५ सम्ममा नेपालको कूल गार्हस्थ्य उत्पादनमा उद्योगको योगदान २२ प्रतिशत र सन् २०३० सम्ममा २५ प्रतिशत पुर्या्उने रहेको छ ।
सरकारले नै नेपालमा औद्योगिक विकासको अवस्था कमजोर रहेको र कूल गार्ह्स्थ्य उत्पादनको संरचनामा उद्योगको योगदान न्यून रहेको तथ्य सार्वजनिक गरेको अवस्थामा औद्योगीकरणको बाटोमा नेपाललाई डोर्याूउन नीतिगत सुधार र प्रक्रियागत सरलताका लागि नेपाल उद्योग परिसंघ सरकार समक्ष आग्रह गर्दछ। यसैगरीवैदेशिक लगानी स्वीकृति छिटो गर्ने र नाफा फिर्ता लैजाने प्रक्रियामा सरलाता कायम गर्नुपर्नेछ ।
कोभिड–१९ को लगातारको प्रभावले नेपालको आर्थिक वृद्धिदर खुम्चिएको छ। दीगो आर्थिक वृद्धिको आधार तयार गर्न औद्योगीकरणका निम्ति राजस्व नीति लिइनुपर्नेमा परिसंघको जोड छ । आयातमा आधारित वर्तमान राजस्व प्रणालीलाई औद्योगीकरणमा आधारित राजस्व प्रणालीमा परिवर्तन गर्नुपर्छ। उत्पादनमूलक उद्योगलाई प्रोत्साहन गर्ने र नेपालमा विदेशी मुद्रा भित्र्याउन सहयोग गर्ने सबै वस्तुको निर्यातमा नगद अनुदानको व्यवस्था गर्नुपर्ने परिसंघको धारणा रहेको छ ।
कमजोर सरकारी खर्चले बजारमा आवश्यक तरलता सिर्जनामा दबाब दिइरहेको छ । सरकारले चालु खर्चमा मितव्ययिता कायम गर्ने र पुँजीगत खर्च र त्यसको गुणस्तरमा वृद्धि गर्दै जाने हो भने बजारलाई आवश्यक पुँजी परिचालनमा सहयोग पुग्नेछ ।