neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रदेश नं १ मा कृषकलाई रासायनिक मलको अभाव छैन

प्रदेश नं १ मा कृषकलाई रासायनिक मलको अभाव छैन

Aug 10th, 2021

विराटनगर, २६ साउन /रासस

प्रदेश नं १ मा कृषकलाई चाहिने रासायनिक मलको अभाव नरहेको सम्बन्धित कार्यालयले जनाएको छ । लगभग रोपार्इं सकिएको यो प्रदेशमा अझै पनि रासायनिक मल युरिया, डिएपी र पोटास मौज्दातमा रहेको बताइएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेड कार्यालय विराटनगरमा अझै युरिया पाँच हजार ५०६ मेट्रिक टन, डिएपी ६४६ मेट्रिक टन र पोटास ७२ मेट्रिक टन मौज्दातमा रहेको कार्यालयका प्रमुख नवरत्न गौतमले जानकारी दिनुभयो । उहाँले यस कार्यालयमा केही दिनभित्रै थप युरिया एक हजार ५०० मेट्रिक टन आउने भएकाले किसानलाई वर्षे धान बालीका लागि चाहिने मलको अभाव नरहने बताउनुभयो ।

गएको वर्षमा रासायनिक मल ५१ हजार २०८ मेट्रिक टनमा मातहतका कार्यालयमा २८ हजार ९५४ मेट्रिक टन पठाएको र कार्यालयले आफैँ १२ हजार ९१६ मेट्रिक टन बिक्री गरी असारसम्ममा नौ हजार ७७७ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको थियो । युरिया अहिले ५० केजीको प्रति बोरा रु ७५० र डिएपी रु।दुई हजार २०० मा बिक्री भएको बताइएको छ । साल्ट ट्रेडिङ कम्पनी विराटनगरमा युरिया १८ हजार ५६२ बोरा, डिएपी १५ हजार २०६ बोरा र पोटास एक हजार ९६४ बोरा मौज्दात रहेको कार्यालय प्रमुख राधेश्याम चौधरीले जानकारी दिनुभयो । कार्यालयले यस वर्ष युरिया २३ हजार ७४७ बोरा, डिएपी १३ हजार ४७० बोरा र पोटास एक हजार ६०० बोरा वितरण गरेको छ भने चालू आवको साउनदेखि अहिलेसम्म वितरण गरेको रासायनिक मलको विवरण भने निकाल्न नपाएको प्रमुख चौधरीले जानकारी दिनुभयो ।