neapl investment mega bank
  • गृहपृष्ठ
  • बाराका माछा किसानलाई मेगा बैंकको सहुलियत कर्जा

बाराका माछा किसानलाई मेगा बैंकको सहुलियत कर्जा

Aug 5th, 2021

काठमाडौ, साउन २१

मेगा बैंक नेपाल लिमिटेडले बारा जिल्लाका माछापालक किसानहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ । मेगा बैंक नेपाल लिमिटेड, ए एण्ड डी आक्वा बिजनेश प्राइभेट लिमिटेड र सुनगाभा माछा कृषि सहकारी संस्थाबीच माछा कृषकहरुलाई अत्याधुनिक बैंकिङ सुविधा र सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्झौता भएको हो । यस सम्बन्धी सम्झौतापत्रमा बैंकका अध्यक्ष भोजबहादुर शाहको उपस्थितिमा बैंककी सिइओ अनुपमा खुञ्जेली, ए एण्ड डी आक्वा बिजनेश प्राइभेट लिमिटेडका अध्यक्ष अमरबहादुर थिङ र सुनगाभा माछा कृषि सहकारी संस्थाका अध्यक्ष शिवहरी आचार्यले सम्झौता गरेका हुुन ।

यो सम्झौताबाट बारा जिल्लाको कोल्हवी नगरपालिकामा रहेका माछापालक कृषकहरु प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ । ए एण्ड डी आक्वा बिजनेश प्राइभेट लिमिटेडले माछापालक कृषकहरुलाई प्राविधिक सहयोग र अन्य सामाग्रीहरु आपूर्ति गर्नेछ भने मेगा बैंकले सहुलियतपूर्ण कर्जा र अन्य आवश्यक कर्जाहरु सहज रुपमा उपलब्ध गराउनेछ ।

हलोदेखि हाइड्रोसम्म नारा बोकेको मेगाले माछापालक कृषकहरुलाई सहुलियतपूर्ण कर्जाबाट प्रोत्साहन गरी माछामा नेपाललाई आत्मनिर्भर बनाउने उद्देश्यले यो सम्झौता गरिएको बैंकका अध्यक्ष भोजबहादुर शाहले बताए । बैंकले आगामी पाँच बर्षका लागि तयार गरेको रणनीतिमा आयातलाई प्रतिस्थापन गर्ने गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने योजना बनाएको छ ।

मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बैंकिङ पहुँचमा नरहेका मध्यमवर्गीय र न्यून आय भएका नेपालीहरु सदैव मेगा बैंकको प्राथमिकतामा रहेको बताउनुभयो । बैंकले आम नागरिकहरुलाई स्थापनाकालदेखि नै प्राथमिकतामा राखेको बताउँदै सिइओ खुञ्जेलीले माछापालक किसानहरुलाई वित्तीय सहायता गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताईन । यसैगरी, ए एण्ड डी आक्वा बिजनेश प्राइभेट लिमिटेडका अध्यक्ष अमरबहादुर थिङ र सुनगाभा माछा कृषि सहकारी संस्थाका अध्यक्ष शिवहरि आचार्यले मेगा बैंकसँग सहकार्य गर्न पाउँदा आफूहरु हर्षित भएको बताए ।

यसैगरी आज मात्रै बैंकले बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ स्थित जीतपुरमा नयाँ शाखा विस्तार गरी सो शाखाबाट बैंकिङ कारोबारको शुभारम्भ समेत गरेको छ ।