neapl investment mega bank
  • गृहपृष्ठ
  • मेलम्चीको भौगर्भिक अध्ययनका लागि टोली खटाइयो

मेलम्चीको भौगर्भिक अध्ययनका लागि टोली खटाइयो

Aug 3rd, 2021

काठमाडौँ, १९ साउन /रासस

मेलम्ची क्षेत्रको भौगर्भिक अध्ययनका लागि सरकारले टोली खटाउने भएको छ । पछिल्लो समय मुलुकभर परेको अविरल वर्षासँगै मेलम्ची क्षेत्रमा सुख्खा पहिरो जाने, लेदो बग्ने खतरा बढेपछि सरकारले उक्त क्षेत्रको भौगर्भिक अध्ययनका लागि टोली खटाएको हो ।

पहिलो चरणको प्रारम्भिक अध्ययन गरेर फर्केको उक्त टोली विस्तृत अध्ययनका लागि भोलि मेलम्ची जाने कार्यक्रम रहेको छ । खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेलले मेलम्ची क्षेत्रको भौगर्भिक अध्ययनका लागि सरकारले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट तीनजना तथा खानी तथा भूगर्भ विभागबाट दुईजनाको भूगर्भविद्को टोली खटाइएको जानकारी दिनुभयो ।

खानी तथा भूगर्भ विभागले सिनियर डिभिजनल जियोलोजिस्टको नेतृत्वमा टोली खटाएको महानिर्देशक घिमिरेले बताउनुभयो । उक्त टोलीले मेलम्ची क्षेत्रको भौगर्भिक अवस्थाको बारेमा विस्तृत अध्ययन तथा अनुसन्धान गर्नेछ ।

असार १ गते परेको अविरल वर्षाका कारण मेलम्ची नदीमा आएको पानीले मेलम्ची बजारमा ठूलो जनधनको क्षति पुगेको थियो । साउन दोस्रो हप्तामासमेत मेलम्चीमा ठूलो बाढी आएको थियो ।