neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • पुरानो संसद् भवनलाई सङ्ग्रहालय बनाउने योजना छ : सभामुख सापकोटा

पुरानो संसद् भवनलाई सङ्ग्रहालय बनाउने योजना छ : सभामुख सापकोटा

Aug 2nd, 2021

काठमाडौँ, १८ साउन /रासस

सभामुख अग्निप्रसाद सापकोटाले भूकम्पबाट क्षतिग्रस्त पुरानो संसद् भवनलाई सङ्ग्रहालय बनाउने योजना रहेको बताउनुभएको छ ।

विसं २०७२ वैशाखमा गएको भूकम्पले क्षतिग्रस्त भइ हाल जीर्ण अवस्थामा रहेको सिंहदरबारस्थित संसद् भवनको अवलोकन गर्नुहुँदै उहाँले पुरातात्विक महत्व बोकेका संरचना भएकाले यसको संरक्षण गर्नु आवश्यकता भएको बताउनुभएको हो ।

“संसद् भवनको संरक्षण आवश्यक छ, प्राविधिक टोलीसँग छलफल गरी आवश्यक कदम चाल्छौँ”, अवलोकनपछि रासससँग उहाँले भन्नुभयो, “सङ्ग्रहालयसँगै यसलाई पुस्तकालयका रुपमा समेत विकास गर्नुपर्छ ।” सङ्ग्रहालय र पुस्तकालय एक अर्कासँग सम्बन्धित विषय भएकाले यसबारे आवश्यक अध्ययन गरी प्रक्रिया अघि बढाइने बताउँदै उहाँले पुरानो संसद् भवनबारे विभिन्न किसिमका सुझाव प्राप्त भएको र ती सबै विषयमा छलफल गरी ठोस निर्णय गरिने उल्लेख गर्नुभयो ।। “सम्बद्ध पक्षसँग आजैदेखि छलफल चलाउँछु, पूरै पुनःनिर्माण गर्ने की जीर्णोद्धार मात्र गर्ने भन्नेबारे चाँडै निर्णय गरिने छ”, सभामुख सापकोटाले भन्नुभयो ।

राजधानीको मुटुमा रहेका ऐतिहासिक भवन भएकाले त्यसको अधिकतम सदुपयोग गर्नुपर्ने उहाँको भनाइ छ । सो अवसरमा उहाँलाई संसद् सचिवालयका कर्मचारीले सो भवनको अवस्थाबारे जानकारी गराउनुभएको थियो ।

दुई वर्षअघि प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले पुरानो संसद् भवनलाई भत्काएर ‘स्टेट गेस्ट हाउस’ बनाउन सरकारलाई निर्देशन दिएको थियो । त्यसयता सो भवनबारे सरकारले कुनै कदम चाल्न सकेको छैन । सभामुख सापकोटोको आजको अवलोकन भ्रमणपछि सो जीर्ण भवनबारे ठोस कदम चालिने विश्वास गरिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi