neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • काभ्रे–सिन्धु एकीकृत एम्बुलेन्स सेवा प्रभावकारी

काभ्रे–सिन्धु एकीकृत एम्बुलेन्स सेवा प्रभावकारी

Jul 30th, 2021

– राजकुमार पराजुली

काभ्रेपलाञ्चोक, १४ साउन /रासस

पिसाब बन्द भएर सिन्धुपाल्चोकको बाह्रबिसेबाट उपचारार्थ बुधबार काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताल आउने क्रममा एम्बुलेन्समै ७६ वर्षीय एक वृद्धलाई निकै पीडा भइरहेको थियो । एम्बुलेन्सकै तालिमप्राप्त स्वास्थ्यकर्मीले ‘क्याथेटर’ हालेर पिसाब बाहिर निकालिदिएपछि ती वृद्ध सञ्चो मानेर निकै खुशी पनि हुनुभयो ।

“स्वास्थ्यकर्मीसहितको एम्बुलेन्स सेवाले निकै सुविधा प्रदान गर्नसक्छ”, धुलिखेल अस्पतालका मुटुरोग विशेषज्ञ डा राजेन्द्रमान कोजूले भन्नुभयो । उहाँका अनुसार उपचारका लागि बिरामी बोक्ने एम्बुलेन्समा दक्ष स्वास्थ्यकर्मी हुनु आवश्यक छ । बाह्रबिसेको एम्बुलेन्सबाट धुलिखेल आउँदै गर्नुभएका ती बिरामी वृद्धले काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकद्वारा सञ्चालित एकीकृत एम्बुलेन्स सेवा लिइरहनुभएको थियो ।

दुई छिमेकी जिल्लाबीचको एकीकृत एम्बुलेन्स सेवा कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएपछि वैशाख महिनादेखि पुनः सञ्चालन गरिएको थियो । यो सेवाले हाल निरन्तरता दिइरहेको छ । कोरोनाका बिरामीलाई उपचारार्थ अस्पताल जान एम्बुलेन्सको अभाव हुन थालेपछि दुई जिल्लामा रहेका एम्बुलेन्स समेटेर गत वर्ष नै ‘एकीकृत एम्बुलेन्स सेवा’ शुरु गरिएको हो ।

एकीकृत सेवा सञ्चालनार्थ काभ्रेपलाञ्चोकको धुलिखेल सामुदायिक अस्पतालमा प्रेषण केन्द्र ९डिस्प्याच सेन्टर० स्थापना गरी दुई जिल्लाका एम्बुलेन्सबीच समन्वयात्मकरूपमा सञ्चालन गरिएको थियो । केन्द्रका अनुसार सेवाको सङ्ख्या गत सालदेखि हजार पुगेको छ । “एम्बुलेन्सका लागि फोन आउँदा नजिकको एम्बुलेन्सलाई समन्वय गरी पठाउने गरिएको छ, यसबाट समयको बचत र सेवा दुरुस्त हुन मद्दत गर्दछ”, कोजूले भन्नुभयो । उहाँका अनुसार दुई जिल्लाका अन्य स्वास्थ्य संस्थाबाट यस्तो सुविधाका लागि निकै दबाब आइरहेको छ ।

काभ्रेपलाञ्चोकका ४२ र सिन्धुपालचोकको ३१ एम्बुलेन्समा जिपीएस प्रणाली जडान गरेर एम्बुलेन्सको वर्गीकरण गरी सञ्चालन गरिएको धुलिखेल अस्पतालका आकस्मिक विभाग प्रमुख डा सानु श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना सङ्क्रमणको फैलावटका आधारमा विशेषगरी एम्बुलेन्स अभावको वर्तमान समयमा यो सेवा निकै प्रभावकारी मानिएको छ ।

बिरामी तथा बिरामीका आफन्तले नेपाल टेलिकमको मोबाइल तथा ल्याण्डलाइन टेलिफोन प्रयोकर्ताले १०२ नम्बरमा फोन गरेपछि धुलिखेल अस्पतालको डिस्प्याच सेन्टरले बिरामीको नजिक रहेको एम्बुलेन्सको व्यवस्थापन गर्ने प्रणाली व्यवस्थित गरिएको छ । काभे्रपलाञ्चोकमा ‘क’ वर्गको (भेन्टिलेटर, विशेषज्ञ चिकित्सकसहित जीवनरक्षा सामग्री भएको) एक, ‘ख’ वर्गको (प्यारामेडिक्ससहित श्वासप्रश्वास बन्द भएमा र मुटुको धड्कन बन्द भएको अवस्थामा डिफिब्रिलेशन गर्नसक्ने दक्ष जनशक्तिसहित) पाँच एम्बुलेन्स रहेका छन् । श्रेष्ठका अनुसार जिल्लामा ‘ग’ वर्गका सामान्य एम्बुलेन्स ३६ वटा छन् ।

यस्तै सिन्धुपाल्चोकमा रहेका ३१ एम्बुलेन्समध्ये तीन ‘ख’ वर्गका र बाँकी २८ ‘ग’ वर्गका सामान्य रहेका छन् । सबै एम्बुलेन्समा जिपीएस प्रणाली जडान गरिएपछि दुवै जिल्लाका एम्बुलेन्सको गतिविधि धुलिखेलस्थित डिस्प्याच सेन्टरले गर्दै आएको श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बिरामीलाई अस्पताल ल्याउने सवालमा कुनै कमी गरिएको छैन ।” उहाँका अनुसार दुवै जिल्लाका एम्बुलेन्समा हाल तालिमप्राप्त चालक र प्यारमेडिक्स परिचालन गरिएको छ ।

सरकारको निर्देशिकाअनुसार धुलिखेल अस्पतालमा सेन्टर स्थापना गरी काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकबीच एकीकृत एम्बुलेन्स सेवा सञ्चालन गरिएको नेपालमै पहिलो मानिन्छ । सरकारले गत वर्ष एकीकृत एम्बुलेन्स तथा पूर्व–अस्पताल सेवा सञ्चालन निर्देशिका–२०७७ जारी गर्दै देशभर छरिएर रहेका एम्बुलेन्सलाई एकद्वार प्रणालीबाट छिटो–छरितोरूपमा कोरोनाका बिरामीलाई सेवा प्रदान गर्न भनेको थियो । उक्त निर्देशिकामा तीन अङ्कको टेलिफोन नम्बरको व्यवस्था गरी सञ्चार प्रणाली र डिस्प्याच सेन्टर स्थापना गरी उक्त केन्द्रमार्फत एकीकृत एम्बुलेन्स सेवा प्रदान गर्ने उल्लेख गरिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi