काठमाडौँ, ५ साउन /रासस
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले धनुषाको सवेला नगरपालिकामा कमला नदीले कटान गरेको भन्दै तत्काल समस्या समाधान गर्न निर्देशन दिनुभएको छ ।
नदीको कटानका कारण नेपालको सबैभन्दा पुरानो चन्द्रनहरसमेत समस्यामा परेको छ । सवेला १३ को तीलकपुरमामा कमला नदीले कटान गरी जोखिम बढाएकाले कटान रोक्ने पहल गर्न मन्त्री भुसालले सिँचाइ विभागलाई निर्देशन दिनुभएको छ ।
मन्त्री भुसालले आज सिँचाइ विभागका महानिर्देशक मधुकर राजभण्डारीमार्फत सो क्षेत्रमा भइरहेको कटान रोकेर बस्ती सुरक्षित तुल्याउन निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ । सो क्षेत्रमा कमला नदीने ६००/७०० मिटर कटान गरिसकेको नेकपा९माओवादी केन्द्र०का सांसद एवं पूर्वमनत्री मातृकाप्रसाद यादवले जानकारी दिनुभयो ।
कमला नदी व्यवस्थापन आयोजनाका प्रमुखलाई सिँचाइ विभागको आकस्मिक कोषको रु ५० लाख खर्च गर्ने गरी कटान नियन्त्रण गर्न मन्त्री भुसालले निर्देशन दिनुभएको महानिर्देशक राजभण्डारीले जानकारी दिनुभयो ।
मन्त्रीको निर्देशनपछि सो क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली नदी नियन्त्रणका लागि खटिएका छन् । नदीले कटान गरिरहेको भन्दै सांसद यादव र पूर्वसांसद शिवराम यादवले मन्त्री भुसालको ध्यानाकर्षण गराउनुभएको थियो । मन्त्रीको ध्यानाकर्षणलगत्तै सिँचाइ विभागले आवश्यक काम शुरु गरिसकेको जनाएको छ ।