काठमाडौं, श्रावन १
मुुलुकको निर्यात व्यापार बढेको छ । नेपाल राष्ट्र बैंकले बिहिबार सार्वजनिक गरेको देशको बर्तमान आर्थिक तथा बित्तीय अवस्था सम्वन्धी पछिल्लो ११ महिनाको प्रतिवेदन अनुसार कुल वस्तु निर्यात ३७ दसमलव आठ प्रतिशतले वृद्धि भई एक खर्ब २१ अर्ब २५ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात शुन्य दसमलव दुई प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्पm क्रमशः ४३ दसमलव तीन प्रतिशत र २५ दसमलव नौ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्पmको निर्यातमा १७ दसमलव चार प्रतिशतले कमी आएको छ । राष्ट्र बैंकका अनुसार वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान, ऊनी गलंैचा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, तार, चोकर लगायतका वस्तुको निर्यात घटेको छ ।
चालुु आर्थिक वर्ष २०७७/७८ को एघार महिनामा कुल वस्तु आयात २५ दमसलव सात प्रतिशतले वृद्धि भई १३ खर्ब ८३ अर्ब ३६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १५ दसमलव तीन प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३२ दसमलव दुुई प्रतिशत, २४ प्रतिशत र नौ दसमलव नौ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, चामल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, भिडियो, टेलिभिजन तथा पार्टपुर्जा, कोल्डरोल्ड शिट इन्क्वाइल, चाँदी लगायतका वस्तुको आयात घटेको छ । निर्याततर्पm तातोपानी, कञ्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्पm तातोपानी र रसुवा भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७/७८ को एघार महिनामा कुल वस्तु व्यापार घाटा २४ दसमलव छ प्रतिशतले वृद्धि भई १२ खर्ब ६२ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १६ दसमलव चार प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात आठ दसमलव आठ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात आठ प्रतिशत रहेको थियो ।