आधारभूमि संवाददाता
काठमाडौं,असार २७
बैंकलाई ब्रोकर लाइसेन्स बाड्न अनाकानी गरिरहेको धितोपत्र बोर्डले निजी कम्पनी अर्थात ब्यक्तिहरुलाई ब्रोकर लाइसेन्स दिनका लागि सोझै आफैले ब्रोकर नियुक्ती गर्नेगरि कानुन संसोधन गर्न लागेको छ।
यसअघि नेप्सेले जाच लिएर सिफारिस गरेका आधारमा धितोपत्र बोर्डले ब्रोकर नियुक्त गर्दै आएको थियो । तर अब भने बोर्डले नेप्सले उक्त सिफारिस गर्ने अधिकार कटौति गरेर आफैले सोझै नियुक्त गर्न पाउने गरि कानुन संसोधन गर्न लागेको छ ।
बोर्डले नेपाल स्टक एक्सचेन्जको अधिकार कटौति गर्दै सोझै ब्रोकर नियुक्त गर्नेगरि धितोपत्र व्यवसायी ( धितोपत्र दलाल तथा धितोपत्र व्याापारी ) नियमावली २०६४ संसोधन गर्न लागेको बोर्ड सञ्चालकहरु बताउँछन् ।
नियमावली संसोधन भएसँगै ब्रोकर नियुक्तीमा नेप्सेको कुनै भूमिका रहनेछैन । तर, धितोपत्र बोर्डको भने यसमा हालीमुहाली बढ्नेछ ।
धितोपत्र व्यवसायी ( धितोपत्र दलाल तथा धितोपत्र व्याापारी ) नियमावली २०६४ को तेस्रो संसोधनमा ब्रोकरले लाइसेन्स लिने क्रममा नेपाल स्टक एक्सजेन्जको सिफारिस चाहिने उल्लेख छ । नेप्सेले यस्तो सिफारिस आवेदन आएका भरमा नभई जाँच लिएर पास भएकाहरुलाई मात्रै सिफारिस गर्ने गरेको छ।
तर, अब बोर्डले भने यस्तो जाँच आवश्यक नभएको भन्दै हटाउन सुरु गरेको जसका लागि बोर्डको बुधबारको बैठकमा प्रस्ताव राखिएको थियो । तर, अधिकांश बोर्डका सञ्चालकले यस्तो उचित नहुने भन्दै फेरी थप गर्न भन्दै फिर्ता गरिदिएका छन् । यसअघि २०६४ सालमा २७ वटा ब्रोकर थप गरिएको थियो । त्यतिबेला नेप्से ब्रोकरहरुको परिक्षा लिएर उत्कृष्टहरुलाई बोर्ड समक्ष सिफारिस गरेको थियो ।
बजार सञ्चालकको अधिकारलाई बजार नियामक निकायले हस्तक्षेप गर्न नहुने र यो अन्तर्राष्ट्रिय मान्यता विपरित भएको बिज्ञहरु बताउँछन् ।
कारोबार बढिरहेकाले ब्रोकरको संख्या थप्नु पर्ने भएको छ । तर,धितोपत्र बोर्ड पब्लीक कम्पनीलाई भन्दा पनि निजी कम्पनीलाई लाइसेन्स बाड्ने योजनामा छ । उसले बाणिज्य बैंकका सहायक कम्पनीलाई लाइसेन्स दिने प्रक्रिया रोकेर निजी क्षेत्रमा दिने बताइरहेकै बेला फेरी लाइसेन्स पनि आफैले बाड्नेगरि नियामावली संसोधनको काम अघि बढाएपछि यसमा आर्थिक चलखेल हुने हो कि भन्ने धेरैको आशंका छ ।
नेप्सेले बजार सञ्चालन गरिरहेको छ । नेप्से बजार सञ्चालक मात्रै नभएर ब्रोकरहरुको नियामक निकाय पनि हो । बजार सञ्चालनका क्रममा कुन उपयुक्त हुने र कुन नहुने भन्ने बारे नेप्सेलाई जानकारी हुन्छ । तर बोर्ड भने नेप्सेको यस्तो भूमिकालाई गौण ठानेर आफ्नै भूमिका मात्रै बढाउन थालेको छ ।