काठमाडौ, असार २६
यस वर्षको मानव अधिकारतर्फ भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार–२०७७ बाट अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पुरस्कृत भएको छ । नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा शुुक्रबार काठमाडौँमा आयोजित एक समारोहमा इन्सेकलाई १ लाख रुपियाँसहित सम्मानपत्रले सम्मान गरिएको इन्सेकले जानकारी दिएको छ ।
बालुवाटारमा आयोजित समारोहमा प्रधानमन्त्री केपी ओलीले १ लाख रुपियाँ नगद र ताम्रापत्रसहित पुरस्कृत गरेको नेकपा एमालेका स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले जानकारी दिए । भगत सर्वजित स्मृति प्रतिष्ठान नेपालको संस्थापक अध्यक्ष विश्वकर्माले उहाँको सम्मानमा सरकारले हुलाक टिकट प्रकाशन गरेको बताए ।
दलित जागरणका लागि राणाशासन कालमै आन्दोलनमा होमिएका समाजका अगुवा व्यक्ति भगत सर्वजितको नाममा २०७२ सालमा यो पुरस्कार स्थापना गरिएको हो । भारत गएर वेदपुराणको अध्ययन गर्नु भएका सर्वजित विश्वकर्माले राणाशासनकै बेला बाग्लुङमा दलित आन्दोलन गर्नु भएको थियो । दलित जागरणका लागि काम गर्ने तीन जनालाई सरकारले वर्षेनी यो पुरस्कार वितरण गर्दै आएको छ ।
भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कारबाट दलित मुक्ति आन्दोलनको क्षेत्रतर्फ बैतडीका पुरनसिंह दयाल, मानव अधिकार क्षेत्रतर्फ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र सीप, कला, शिक्षा, साहित्य, संस्कृति लेखन तथा अध्ययन अनुसन्धानको क्षेत्रतर्फ जागरण मिडिया सेन्टर पुरस्कृत भएका हुन् ।
गत वैशाख ५ गते घोषणा गरिएको पुरस्कार असार २५ गते प्रदान गरिएको हो । अनौपचारिक क्षेत्र सेवा केन्द्रले जातीय विभेद अन्त्यका लागि स्थापना कालदेखि नै जनजागरणका विभिन्न काम गर्दै आएको छ । पुरस्कार लिएपछि इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठले इन्सेकले आफ्नो स्थापना कालदेखि नै दलित अधिकारका क्षेत्रमा योगदान गर्दै आएको बताईन ।