भक्तपुर, असार ११
भक्तपुरका एकजनाले शिक्षकले विपन्न वर्गका स्कुलका विद्यार्थीलाई पुस्तक प्रदान गरेर आफनो जन्मदिन मनाएका छन् । भक्तपुर नगरपालिका वा नं ९ कमलविनायकस्थित रोम्वस नेशनल स्कुलका प्रिन्सिपल डा राजेन्द्र कोजूले विहीबार आफनो ४३ औ जन्मदिन चाँंगुनारायण नगरपालिका सुडालस्थित ठूली व्रम्हायणी आधारभूत विद्यालय सुडालका ससाना विपन्न विद्यार्थीलाई पाठ्यपुस्तक प्रदान गरी मनाएका हुन् ।
स्कुलमा नर्सरी, एलकेजी र यूकेजीमा अध्ययनरत ४५ जना विद्यार्थीलाई एकएक सेट पाठ्यपुस्तक प्रदान गरी डा कोजूले जन्मदिन मनाएका हुन् । विपन्न वर्गका वालवालिकाको पढन पाउने अधिकारबाट वञ्चित नहोस् भनेर एक समारोहवीच स्कुलमा गएर आफूले पुस्तक हस्तान्तरण गरेको डा कोजूले जनाए ।
कार्यक्रममा रोम्वस नेशनल स्कुलका निर्देशक सरिता कोजूले स्कुलले कमाएको केही रकम सामाजिक उतरदायित्वमा खर्च गर्ने क्रममा स्कुलका विद्यार्थीलाई पाठ्यपुस्तक प्रदान गरी सहयोग गरेको जनाइन् । करिव ५३ हजार बराबरको रकमबाट पाठ्यपुस्तक खरिद गरी विद्यार्थीलाई वितरण गरिएको उनले जनाइन् ।
ठूली व्रम्हायणी आधारभूत विद्यालय सुडालका प्रिन्सिपल हरि राउतले प्राप्त पाठ्यपुस्तकले विपन्न वर्गका विद्यार्थीलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे । सरकारी स्कुलको रुपमा रहेको आफनो स्कुलमा दनुुवार, सुनुवार लगायतका जातका विपन्न वर्गका विद्यार्थी अध्ययनरत रहेको जानकारी गराए ।
कार्यक्रममा पुस्तकका दाता डा कोजूले आगामी दिनमा स्कुलसँंग शैक्षिक सहकार्य गरी सहयोग गर्दै जाने प्रतिवद्धता जनाएका थिए । त्यसका लागि स्कुलका शिक्षकको क्षमता अभिबृद्धिका लागि सहयोग गर्ने प्रतिवद्धता उनले जनाएका थिए । दाता डा कोजूले यसअघि अघिल्लो वर्ष पनि कृष्ण प्राविलाई यसरी नै पुुस्तक सहयोग गरेका थिए । गतवर्ष कोरोना कारणले आफूले चाहेर पनि पुस्तक वितरण गर्न नसकेको जनाए । पव्लिक प्राइभेट पार्टनरशिपको अवधारणा अनुसार आफनो निजी स्कुलले सरकारी स्कुललाई सहयोग गर्दै आएको र आगामी पनि दिनमा पनि त्यसलाई निरन्तरता दिने योजना रहेको डा कोजूले जनाए ।