– पुरुषोत्तम थापा
दुल्लु, ७ असार /रासस
कोरोना कहरमा पनि दैलेखका प्रत्येक गाउँका खेतमा रोपाइँको चटारो छ । सामाजिक दुरी कायम नगरी मास्कको र सेनिटाइजरको प्रयोगविना स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाउँदै हरेक गाउँका खेतमा रोपाइँ धमाधम चलिरहेको छ ।
भारतबाट फर्केका व्यक्ति कोरोना परीक्षणविनै र होम आइसोलेशनको बसाइँविनै सिधैँ खेतमा पुगी रोपाइँमा हली बाउसे बन्ने गरेको पाइएको छ । अहिले कसैलाई कोरोना सर्ने र त्यसले आफू थला परिएला वा ज्यानैसमेत लैजाला भन्ने भएको छ्रैन । बरु आफ्नो रोपाइँ कसरी निधोकै दिन गर्ने र समयमै भ्याउने भन्ने कुराको होडबाजी नै चलेको छ ।
दिनहुुँ दैलेखका प्राय खेतमा मानिसको बाक्लो उपस्थितिमा धमाधम रोपाइँ गर्ने काम चलिरहेका छन् । शुरु–शुरुमा गाउँमा कोरोनाको डर मान्ने गरे पनि अहिले भने कसैलाई त्यसको डर छैन । अहिले सामाजिक दुरी कायम नगरी भेला हुँदा कोरोना सङ्क्रमण फैलिन्छ भन्ने डरत्रासविनै रोपाइँ गर्न प्राय मानिस जुट्ने गरेका छन् ।
“दिनहुुँ जसो रोपाइँको पालो छ रोपाइँमा नगइ छैन, मानो उमारेर मुरी बनाउने समय हो, अब कोरोनाको डर मानेर बसेर घरमा बसे भोलि पेट भोकै हुन्छ”, भन्नुहुन्छ नारायण नगरपालिका–४ का किसान भवी न्यौपाने । कम्तीमा ४०÷५० जना दैनिक रोपाइँमा सामाजिक दुरी कायमलगायत स्वास्थ्य मापदण्डविनै रोपाइँ गर्ने गरेको किसान बताउनुहुन्छ ।
रोपाइँ शुरु भएसँगै यो नियती किसानको दिनचर्या नै बनेको किसान बताउँछन् । सबै मिलेर सगोलमा काम नगरे आफ्नै छाक बन्द हुने भएकाले काममा जुटेको भैरवीका किसान सुरज गुरुङले बताउनुभयो ।
उहाँको मात्र होइन अहिले दैलेखका प्राय खेतमा भेटिने सबैले यही उत्तर दिने गरेका छन् । पछिल्लो समय रोपाइँ नै कोरोनाको थलो बन्न सक्ने सम्भावना र खतरा बढेर गएको स्वास्थ्यकर्मीले आशंका गरेका छन् । महाबु गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश दसौदी कोरोना सङ्क्रमणबाट सुरक्षित हुन अपनाउनुपर्ने कुनै पनि मापदण्ड रोपाइँमा नअपनाइदा फेरि रोपाइँसँगै अर्को महामारी फैलिन सक्ने निकै सम्भावना बढेर गएको बताउनुहुन्छ ।
बिहानदेखि रोपाइँ नसकुञ्जेल ४०/५० जना भेला हुन्छन् । कुनै एकलाई कोरोना भए पूरै समुदाय नै सङ्क्रमणको शिकार हुने निश्चित रहेको र महामारी फैलिने खतरा बढेको उहाँले आशंका गर्नुभयो । रोपाइँले कोरोना सङ्क्रमण फैलिने खतरा बढेको जिल्ला अस्पताल दैलेखका निप्रमुख थिरप्रसाद रेग्मीले पनि चिन्ता व्यक्त गर्नुभयो ।
“कोरोना फैलिएर समुदाय नै समाप्त नहोस्, अनि त्यस्ता सम्भावित खतरा टार्न र कोरोना नियन्त्रण गर्न जिल्लामा निषेधाज्ञा जारी गरिएको हो, तर रोपाइँको सिजनले कुनै पनि गाउँमा नियम पालना भएको छैन”, प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले भन्नुभयो ।
तत्काल जिल्लास्थित कोरोना नियन्त्रण समितिको बैठक बसाली सम्भावित खतराबाट बचाउन के कस्ता उपाय र स्वास्थ्य उपचारका शैली अबलम्वन गर्ने भन्ने बारेमा सबै सरोकारबालासँग सुझाव लिने काम गरिने उहाँले जानकारी दिनुभयो ।