neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

जयतु संस्कृतम् ७५ वर्षमा

Jun 15th, 2021

काठमाडौँ, १ असार /रासस

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संस्कृत भाषाप्रेमीमा वर्गीय एकता कमजोर रहेको उल्लेख गर्नुहुँदै भाषाको प्रवद्र्धनका लागि एकताबद्ध हुनुपर्नेमा जोड दिनुभएको छ ।विसं २००४ मा भएको नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् ७५ वर्ष अर्थात् हीरक वर्ष प्रवेश गरेको अवसरमा आज जुम प्रविधिबाट आयोजित कार्यक्रममा उहाँले संस्कृतको महत्व बुझेका मानिसबीचमा एकता गरेर पुनर्जागरण ल्याई संस्कृतलाई मृत नभई अमृत भाषाका रुपमा स्थापित गरिनुपर्ने बताउनुभयो ।

“संस्कृत वाङ्मयमा रहेको ज्ञानको भण्डारलाई राज्यले छुट्टै प्रकारले सहयोग गनुपर्छ, प्रशिक्षण निरन्तर चलाउनुपर्छ, पाठ्यक्रमलाई युगानुकुल बनाउनुपर्छ, ज्योतिष, आयुर्वेद, दर्शन, खगोलविद्या, साहित्यको विकास एवं अनुसन्धानमा राज्यले विशेष पहल गर्नुपर्छ, यसका लागि हामीले राज्यलाई घच्घच्याउनुपर्छ”– नेता पौडेलले भन्नुभयो ।

संस्कृतमा ठूलो विकासको सम्भावना रहेको उल्लेख गर्नुहँदै उहाँले जयतु संस्कृतम्ले नेपालमा प्रजातन्त्र स्थापनामासमेत महत्वपूर्ण सहयोग गरेको स्मरण गर्नुभयो । कार्यक्रममा पूर्वमन्त्री चिरञ्जीवी वाग्लेले छात्रावासबाट निकालिएका विद्यार्थीले भारतको बनारसस्थित मङ्गलागौरी धर्मशालामा बैठक गरी राजनीतिक स्वतन्त्रताको मुद्दालाई पनि उठाउने निर्णय गरेको बताउनुभयो ।

जयतु संस्कृतम् शैक्षिक सुधार र प्रजातान्त्रिक शासन व्यवस्थासँगसमेत जोडिएको उहाँको भनाई थियो । माओवादी सशस्त्र युद्ध शुरु भएपछि संस्कृत विद्यालय बन्द गरेर धर्म, संस्कृति माथि नै हमला भएको पूर्व मन्त्री वाग्लेले बताउनुभयो । पूर्व सांसद एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले जयतु संस्कृतम् आन्दोलन शुरु भएको तीनधारा संस्कृत छात्रावासलाई पुरानै स्वरुपमा फर्काउनुपर्ने बताउनुभयो । नेपाल संस्कृत विश्वविद्यालयका नाममा धेरै जग्गा भएकाले त्यसको समेत सदुपयोग गरेर संस्कृत क्षेत्रलाई समृद्ध बनाउन सकिने उहाँको भनाई थियो ।

कार्यक्रममा डा भवानीशकर भटराईले संस्कृतसम्बन्धी सबै संस्थालाई जयतु संस्कृतम् संस्थाले जोडेको बताउनुभयो । जयतु संस्कृतम् संस्थाका सदस्य एवं पूर्व सचिव कृष्ण ज्ञवालीले २००४ सालमा विद्यार्थी निकालिएपछि गाउँ गाउँ गएर राणा शासनका विरुद्ध शङ्खघोष गरेको बताउनुभयो । यसै वर्ष हुने जनगणनामा अरुजस्तै संस्कृत भाषा पनि बोलिन्छ भन्ने प्रमाणित गर्न संस्कृत भाषाप्रेमी एकजुट भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

संस्थाका उपाध्यक्ष विष्णु देवकोटा, महासचिव नवराज कट्टेल, प्रा डा विद्यानाथ उपाध्याय, जयतु संस्कृतम् दुई नं। प्रदेश संयोजक सुशीलचन्द्र अधिकारी, संस्थाका वाग्मती संयोजक नारायणप्रसाद खनाल, सुनसरी शाखाका अध्यक्ष चन्द्रमणि नेपाल, वेदप्रसाद पन्थ, कर्णाली संयोजक नरेन्द्र आचार्य, सुदूरपश्चिम शाखा संयोजक भोजराज जोशीलगायतले जयतु संस्कृतम्को उद्देश्य रामराज्य स्थापना नभएसम्म पूरा नहुने भएकाले त्यसका लागि लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

हीरक जयन्तीका अवसरमा यो वर्षभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउने जनाइएको छ । यस अवसरमा संस्थाले जुम प्रविधिबाट वक्तृत्वकला, संस्कृत श्लोक वाचनालगायत कार्यक्रमसमेत आयोजना गरेको छ । प्रतियोगिताका विजयीलाई कोरोना महामारी सहज भएपछि पुरस्कार र प्रमाण पत्र दिइने जनाइएको छ ।

विसं २००४ मा तीनधारा पाठशाला (संस्कृत छात्रावास) मा आवासीय सुविधासहित अध्ययनरत विद्यार्थीले संस्कृतसँगै आधुनिक विषय पनि पढ्न पाउनुपर्ने माग पूरा नभएपछि जयतु संस्कृतम् आन्दोलन भएको थियो । आन्दोलनरत ३८ जना विद्यार्थीलाई चारपाटा मुडेर काठमाडौँ उपत्यकाबाट बाहिर निकालेपछि गाउँ गाउँ पुगेर तिनले राणा शासनको बिरोध गरेका थिए ।

छात्रावासबाट निष्कासित विद्यार्थी राणा शासनको बिरोध गर्दै देशमा विभिन्न भाग हुँदै बनारस पुगेर नेपाली कांग्रेसका संस्थापक नेता विपी कोइरालासँग भेट गरी प्रजातन्त्र स्थापनाको आन्दोलनमा सहभागी भएका थिए । जयतु संस्कृतम् आन्दोलनको नेतृत्व पूर्णप्रसाद ब्राह्मण, श्रीभद्र शर्मा, राजेश्वर देवकोटा, अच्युतराज रेग्मी, पद्मशंकर अधिकारीलगायतले नेतृत्व गर्नुभएको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi