neapl investment mega bank
  • गृहपृष्ठ
  • महासंघको प्रतिनिधिमण्डलद्वारा स्वास्थ्य मन्त्रीसमक्ष भेटवार्ता, अर्थतन्त्रसंग प्रत्यक्ष जोडिएको वर्गलाई खोपमा प्राथमिकता दिइयोस–महासंघ

महासंघको प्रतिनिधिमण्डलद्वारा स्वास्थ्य मन्त्रीसमक्ष भेटवार्ता, अर्थतन्त्रसंग प्रत्यक्ष जोडिएको वर्गलाई खोपमा प्राथमिकता दिइयोस–महासंघ

Jun 15th, 2021

काठमाडौ, असार १

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल सहितको प्रतिनिधिमण्डलले स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय शेर बहादुर तामाङ्ग समक्ष आज मंगलबार मन्त्रालयमा भेटगरी अर्थतन्त्रसंग प्रत्यक्ष जोडिएका उद्यमी व्यवसायी, श्रमिक, कामदार, कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ ।

सो अवसरमा महासंघका तर्फबाट समग्र अर्थतन्त्रलाई चलायमान बनाउने निजी क्षेत्रका उद्यमी व्यवसायीले निषेधाज्ञा र बन्दाबन्दीका समयमा अग्रभागमा रहेर उपभोग्य वस्तुहरूको निर्वाध उत्पादन र वितरणका लागि काम गरीरहेकाले यो क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइयो । जीर्ण भएको अर्थतन्त्रको चक्का चलाउन, अर्थतन्त्रलाई लयमा फर्काउन र सरकारका आर्थिक लक्ष्यलाई पुरागर्न समेत यो वर्गलाई खोपमा पहिलो प्राथमिकतामा राख्नुपर्नेमा अध्यक्ष गोल्छाले जोड दिए । महासंघका सदस्य जिल्ला, नगर उद्योग वाणिज्य संघहरू, वस्तुगत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरू र एसोसिएट अन्तरगतका सबैलाई अवको प्राथमिकतामा खोप दिने व्यवस्था मिलाइयोस, अध्यक्ष गोल्छाले स्वास्थ्यमन्त्रीसंगको भेटमा भने ।

कोभिड १९ को महामारी र त्यसको नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा र वन्दावन्दीका समयमा पनि उद्यमी व्यवसायीले निर्वाधरुपमा उत्पादन र आपूर्ति व्यवस्थापनमा काम गरेका छन् र संकटको घडिमा निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्था महासंघ र यसको सिंगो सञ्जालनै आपूर्ति व्यवस्थापन, महामारी नियन्त्रण, स्वास्थ्य पूर्वाधार निर्माण सहित राहत सेवा प्रदान गर्न अहोरात्र खटिरहेको र आगामी दिनमा पनि क्रियाशील रहने प्रतिवद्धता महासंघका तर्फबाट सो अवसरमा व्यक्त गरे । प्रतिनिधिमण्डलमा महासंघको चलचित्र तथा मनोरञ्जन फोरमका सभापति आकाश अधिकारीको पनि सहभागिता थियो ।

महासंघसंगको भेटवार्तामा मन्त्री तामाङ्गले अर्थतन्त्रसंग प्रत्यक्ष जोडिएका उद्यमी व्यवसायी र यस क्षेत्रमा कार्यरत सम्पूर्ण कामदार कर्मचारीहरूलाई पहिलो प्राथमिकतामा राखेर कोभिड विरुद्धको खोप उपलव्ध गराउने प्रतिवद्धता जनाए । कोभिडले समग्र अर्थतन्त्रनै जर्जर बनाएकाले अर्थतन्त्रलाई तत्काल तङग्रने वातावरण बनाउन यस क्षेत्रमा जोडिएका सबैलाई खोप दिई काममा फर्काउन जरूरी भएको कुरालाई सरकारले मनन गरिसकेकाले उद्योग व्यवसायसंग प्रत्यक्ष जोडिएको जनशक्तिलाई खोप लगाउन आफूले पहिलो प्राथमिकता दिएर जाने विश्वास दिलाए ।