वीरगञ्ज, ३१ जेठ /रासस
पर्सामा लक्ष्यको ३७ प्रतिशत ज्येष्ठ नागरिकले मात्र कोरोना भाइरसविरुद्धको भेरो सेल खोप लगाएका छन् ।
सरकारले ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई कोरोना भाइरसविरुद्धको भेरो सेल खोप लगाउन गरेको निर्देशनानुसार पर्सामा गत शुक्रबार र शनिबार सञ्चालन गरेको खोप केन्द्रबाट लक्ष्यको ३७ प्रतिशत ज्येष्ठ नागरिकले मात्र खोप लगाएका हुन् । पर्सामा १२ हजार ३ सय नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएको थियो । यसका लागि वीरगञ्ज महानगरपालिकालगायत १४ वटै स्थानीय तहको वडास्तरमा १०२ खोप केन्द्र सञ्चालन गरिएको थियो । सो केन्द्रबाट
चार हजार ५५४ ज्येष्ठ नागरिकले मात्र कोरोना भाइरसविरुद्धको भेरोसिल खोप लगाएको जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।
भेरोसिल खोपले शरीरमा नाकारात्मक प्रभाव पर्न सक्ने गलत हल्ला फैलिएपछि फैलिएपछि जिल्लामा ६३ प्रतिशत लक्षित वर्गले सो खोप लिन नमानेको जिल्ला स्वास्थ्य कार्यालय पर्साका खोप अधिकृत अनिल सिंहले राससलाई बताउनुभयो । लक्षित वर्गका लागि सङ्घीय सरकारबाट १० हजार ८३० डोज भेरोसिल खोप प्राप्त भएको सो कार्यालयले जनाएको छ । आज पुनः खोप कार्यक्रम सञ्चालन गरिने सो कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिराभवानी गाउँपालिकामा १५४, जगरनाथपुर गाउँपालिकामा १६४, छिपहरमाई गाउँपालिकामा ६१, धोबिनी गाउँपालिकामा ४८, पकहामैनपुर गाउँपालिकामा ५७, बिन्दबासिनी गाउँपालिकामा १९८, बहुदरमाई गाउँपालिकामा ३३० र ठोरी गाउँपालिकामा २०० ज्येष्ठ नागरिकले सो खोप लिएका छन् । गलत हल्लाको पछि नलागेर लक्षित वर्ग सबैलाई खोप लिन जिल्ला जनस्वास्थ्य कार्यालयले सबैमा अनुरोध गरेको छ ।