neapl investment mega bank
  • गृहपृष्ठ
  • झापामा जिल्लामा पहिलोपटक शव व्यवस्थापनमा निस्कियो स्काउट टोली

झापामा जिल्लामा पहिलोपटक शव व्यवस्थापनमा निस्कियो स्काउट टोली

Jun 6th, 2021

झापा, २३ जेठ /रासस

नेपाली सेनासँगको सहकार्यमा जिल्लामा पहिलोपटक कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको शव नेपाल स्काउटको टोलीले व्यवस्थापन गरेको छ । स्काउट प्रदेश नं १ का सदस्य अरूण बस्नेत नेतृत्वको टोलीले भद्रपुर–६ का ८४ वर्षीय वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएपछि सेनासँगको सहकार्यमा शनिबार शव व्यवस्थापन गरेको हो । कोरोना सङ्क्रमितको मृत्युदर तीव्र हुँदै जाँदा सेनाले प्रशिक्षण दिएपछि पहिलोपटक स्काउट टोली शव व्यवस्थापनका लागि भद्रपुरबाट निस्किएको हो ।

जिल्लामा दमक, गौरादह, शिवसताक्षी नगरपालिका, गौरीगञ्ज, कमल गाउँपालिकामा रामप्रसाद पौडेल, बिर्तामोड, कनकाई, अर्जुनधारा नगरपालिका, झापा, बुद्धशान्ति गाउँपालिकामा केशी श्रेष्ठ, मेचीनगर, भद्रपुर नगरपालिका, हल्दिबारी, बाह्रदशी, कचनकवल गाउँपालिकाका लागि भने अरुण बस्नेतलाई कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनका लागि संयोजकको रूपमा स्काउटले तोकेको छ ।

जिल्लामा शनिबार मात्र सात जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो । एक वर्षको अवधिमा कोरोना सङ्क्रमणबाट जिल्लामा २२५ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय झापाका स्रोत व्यक्ति जीवन चौलागाईँले बताउनुभयो ।