आधारभूमि संवाददाता
काठमाडौं, जेठ २१
देशमा सञ्चालनमा रहेका बिदेशी कम्पनीले महामारीका समयमा पनि २५ अर्ब ९२ करोड बराबरको रकम लगेको देखिएको छ । उनिहरुले बाहिर लाने यस्तो रकम गत वर्ष भन्दा दोब्बरले बृद्धि भएको नेपाल राष्ट्र बैकको आकडामा उल्लेख छ ।
यद्यपि यो रकम बिदेशी कम्पनीले महामारीकै बिचमा कमाएको भने होइन । तर भित्रिने बैदेशिक लगानी भने बाहिरिने रकमको तुलनामा बढि छ ।,
नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षमा कूल १४ अर्व ७ करोड प्रत्यक्ष बैदेशिक लगानी लेखांकन भएकोमा चालु आर्थिक वर्षको पहिलो नौमहिनामा २२ अर्व ४३ करोड बराबरको बैदेशिक लगानी लेखांकन भएको छ ।
यस्तै अघिल्लो आर्थिक वर्षमा १ खर्ब ६५ अर्व ४९ करोड बराबरको वैदेशीक ऋण स्वीकृत भएकोमा चालु आर्थिक वर्षको पहिलो नौ महिनामा २१ अर्व २८ करोड बराबरको वैदेशिक ऋण स्वीकृत भएको छ ।
बैदेशिक लगानी स्वीकृत हुँदैमा मुलुकमा आउँछ भन्ने छैन । त्यसैले स्वीकृत रकम के कति आयो भन्ने मूख्य कुरा हो ।
यस्तै गत तीन वर्षमा नेपाल भित्रिएको कुल प्रत्यक्ष विदेशी लगानीभन्दा सो अवधिमा मुलुकबाट बाहिरिएको लाभांश दोब्बर देखिन्छ ।
आर्थिक वर्ष २०७५/७६ सम्मको विदेशी लगानीसम्बन्धी सर्वेक्षणका अनुसार आर्थिक वर्ष २०७३/७४ देखि २०७५/७६ सम्म नेपालमा करिब ४४ अर्ब रुपैयाँ विदेशी लगानी भित्रिएको छ । सोही अवधिमा लाभांशबापत साढे ८४ अर्ब रुपैयाँ बाहिरिएको छ ।
र पछिल्ला वर्षमा भित्रिने लगानी घट्दो छ भने बाहिरिने लाभांश बढ्दो । पछिल्ला चार वर्षमा नेपालबाट बाहिरिएको लाभांश आर्थिक वर्ष २०७५/७६ सम्म नेपाल आएको कुल विदेशी लगानी (चुक्ता पुँजीका आधारमा) भन्दा बढी हो ।
राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ सम्म लगानीमा रहेको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) कुल १ खर्ब ८२ अर्ब ९१ करोड रुपैयाँ छ । यो सबै रकम विदेशबाट आएको होइन ।
त्यसमध्ये चुक्ता पुँजीका रूपमा रहेको रकम मात्र विदेशबाट आएको हो । बाँकी रकम लाभांश र कर्जाबापतको हो । आर्थिक वर्ष २०७५/७६ सम्म नेपाल भित्रिएको विदेशी लगानीमा ८८ अर्ब १५ करोड रुपैयाँ मात्र चुक्ता पुँजी छ ।
सोही अवधिमा विदेशी लगानी रहेका आयोजनाको सञ्चित कोषमा ७८ अर्ब ३६ करोड रुपैयाँ र कर्जा (आयोजनाले विदेशबाट लिएको कर्जा) का रूपमा १६ अर्ब ३७ करोड रुपैयाँ छ । यी तीनवटै (चुक्ता पुँजी, सञ्चित कोष र कर्जा) शीर्षकमा रहेको रकम जोडेर कुल लगानीमा रहेको विदेशी लगानी निकालिएको हो ।
हालसम्म चुक्ता पुँजीका रूपमा हाल ८८ अर्ब १५ करोड रुपैयाँ लगानीमा छ । तर पछिल्ला चार वर्ष (आर्थिक वर्ष २०७३/७४ देखि २०७६/७७ सम्म) कुल ९७ अर्ब ४५ करोड रुपैयाँ लाभांश बाहिरिएको देखिन्छ ।