आधारभूमि संवाददाता
काठमाडौं, जेठ १९
नबिल बैंकले राष्ट्र बैंकको निर्देशन लत्याएको देखिएको छ । बैशाख महिनामा राष्ट्र बैंकको निर्देशन बिपरित यो बैंकले संस्थागत निक्षेपकर्ताको ब्याज घटाएको छ ।
बैंकहरुले अर्काे महिनामा लिने र दिने ब्याज अघिल्लो महिनामा नै प्रकाशन गरेको हुनुपर्छ । साधारण निक्षेपको ब्याजदर प्रत्येक महिनामा परिवर्तन गरेपनि बोलकबोल मार्फत संस्थागत निक्षेपकर्ताबाट लिने रकमको ब्याजदर भने तीन महिनासम्म परिवर्तन गर्न पाइदैन । तर नबिल बैंकले यस्तो नियम बैशाख महिनामा मिचेको छ।
फागुन महिनामा यो बैंकले संस्थागत निक्षेपकर्तालाई तीन महिना सम्मको लागि ४ प्रतिशत र तीन देखि ६ महिनासम्मको लागि ५ प्रतिशत ब्याज दिने बताएको थियो । त्यसलाई चैतमा आएर ७ दशमलव पाँच एक पुरायो । यहाँसम्म पनि ठिकै छ। तर बैशाखमा आएर यो बैंकले पुन यस्तो ब्याजदरस परिवर्तन गरेर ६ दशमलव पाँच एक कायम गरेको छ ।
तरलता अभावका बेलामा सस्ंथागत निक्षेपकर्ताको बढेपछि नेपाल राष्ट्र बैंकले २०७५ सालमा यस्ता संस्थाले बोलकबोलबाट पाउने ब्याज बैंकहरुले ३ महिनासम्म परिवर्तन गर्न नपाउने व्यवस्था गरेको थियो ।
संस्थागत निक्षेपकर्ताले बैंक परिवर्तन गर्ने र ब्याजको बार्गेनिङ गर्ने क्रम बढेपछि ब्याजदरलाई केहि हदसम्म भएपनि नियन्त्रणमा राख्न राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको थियो । जुन व्यवस्था अहिले पनि कायमै छ । बरु मंगलबार एकिकृत निर्देशन जारी गर्दै यसलाई पुन गाढा रङमा लेखेर राष्ट्र बैंकले दोहोराएको छ ।
नबिल बैंकले यस्तो निर्देशन लत्याउँदा पनि राष्ट्र बैंक भने मौन बसेको छ । जबकी राष्ट्र बैंकले यस्तो निर्देशन लत्याएमा बैंकिङ कारोबार रोक्ने देखि लाभांस वितरणमा समेत रोक्न सक्छ । तर पनि राष्ट्र बैंक यसमा मौनता साधेर बसेको छ।