काठमाडौ, जेठ १३
स्टेण्ड अप कमेडियनको समूह ‘नेपग्याजम’ ले सगरमाथाको कालापत्थरमा स्टेण्डअप कमेडी गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराएको छ । ‘नेपग्याजम’ का तर्फबाट उमेशकुमार गौतम (यूकेजी) र लोकमणि त्रिताल (रमेश अंकलको छोरो) ले गत वैशाख २० मा ५ हजार ६ सय ४३ मिटरको उचाईमा स्ट्यान्डअप कमेडी प्रस्तुत गरेका थिए ।
‘प्रदुषणरहित समाजको परिकल्पना, हर अनुहारमा मुस्कान नेपग्याजमको चाहना’ भन्ने नारासहित कमेडी प्रस्तुतीका लागि नेपग्याजमले गिनिज बुक अफ वल्र्ड रेकर्डबाट अनुमति लिएर उनीहरु त्यहाँ पुगेका थिए । नेपग्याजम मिडिया एण्ड प्रोडक्सनका निर्देशक सन्तोष देवकोटाले विश्व रेकर्ड कायम भएको आधिकारिक घोषणा भइसके पनि कोरोना महामारीका कारण प्रमाणपत्र आउन केही समय लाग्ने बताए ।
कलाकार उमेशले स्वस्थ मनोरञ्जनात्मक सामाग्री समेटिएको तीस–तीस मिनेटको दुईवटा स्ट्याण्डअप कमेडी प्रस्तुत गरिएको बताए ।