neapl investment mega bank
  • गृहपृष्ठ
  • स्वावलम्बन लघुवित्तद्वारा कोभिड–१९ प्रभावित सदस्यलाई राहत वितरण

स्वावलम्बन लघुवित्तद्वारा कोभिड–१९ प्रभावित सदस्यलाई राहत वितरण

May 25th, 2021

काठमाडौ, जेठ ११

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले कोभिड–१९ को दोश्रो लहरको कारण नेपाल सरकारले देशाको विभिन्न स्थानमा गरेको निशेधाज्ञाले हाल सदस्यहरुले गर्दै आएका व्यवसायहरु प्रभावित हुँदा आय आर्जन गर्न नसकेका विपन्न सदस्य र उनीहरुका परिवारलाई एक सय ४० वटा शाखा कार्यालयबाट खाद्य समाग्री राहत स्वरुप उपलब्ध गराउने क्रम जारी राखेको छ ।

वित्तीय संस्थाका सबै शाखा तथा उपशाखा कार्यालयले न्यून आय भएका र हालको विषम परिस्थितिमा अप्ठ्यारोमा परेका सदस्यहरुलाई उनीहरुको घरदैलोमा राहत उपलब्ध गराउने योजना अनुरुप संस्थाका विभिन्न शाखा कार्यालयहरुले दैनिक रुपमा खाद्य सामग्री चामल, दाल, नुन र तेल उपलब्ध गराउने अभियान जारी राखेको हो । यसका अतिरिक्त वित्तीय संस्थाले कार्यक्रममा आवद्ध ग्राहक सदस्यहरुलाई कोभिड–१९ पोजिटिभ देखिएका र आइसोलेसनमा बसेका सदस्यलाई आर्थिक लगायत औषधोपचारका राहत प्याकेज समेत ल्याउन लागेको जनाएको छ ।

राष्ट्रियस्तरको कार्यक्षेत्र रहको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले हाल ६१ जिल्लामा रहेका एक सय ४० वटा शाखा कार्यालय साथै नौ वटा इलाका कार्यालय मार्फत दुुई लाख ५१ हजार सदस्य तथा परिवारलाई प्रत्यक्ष लघुवित्त सेवा तथा विभिन्न गैर वित्तीय, दक्षता अभिवृद्धि लगायतका सेवा प्रदान गर्दै आएको छ ।

संस्थाले गत वर्ष समेत कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा एक करोड ५७ लाख २८ हजार एक सय २१ सहयोग उपलब्ध गराएको थियो । यसैगरी, सात वटै प्रदेशमा रहेका शाखा तथा उपशाखा कार्यालय मार्फत एक सय ५० स्थानीय निकायलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको थियो । वित्तीय संस्थाले कोभिड–१९ कारण समस्यामा परेका विपन्न ग्राहक सदस्यलाई विभिन्न शाखा कार्यालय मार्फत राहत सामग्री खाद्यान्न समेत वितरण गरेको थियो ।