neapl investment mega bank
  • गृहपृष्ठ
  • अक्सीजन प्लान्ट स्थापना गर्नेले औसतमा ६.९१ % मै ऋण पाउने

अक्सीजन प्लान्ट स्थापना गर्नेले औसतमा ६.९१ % मै ऋण पाउने

May 19th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, जेठ ५

राष्ट्र बैंकले अक्सीजन प्लान्टलाई आधार दरमै कर्जा दिने छुट दिएको छ । यो सँगै अक्सीजन प्लान्ट स्थापना गर्नेहरुले औसतमा ६.९१ प्रतिशतमा कर्जा पाउने देखिन्छ ।

बैंकहरुको आधार दर ५ दशमलव तीन तीन देखि सात दशमलव आठ दुई प्रतिशतसम्म रहेको छ । यसलाई औसतमा निकाल्ने हो भने ६ दशमलव नौ एक प्रतिशतको हाराहारीमा उद्योगीले अक्सीजन प्लान्ट स्थापना गर्न ऋण पाउन सक्ने देखिन्छ ।

राष्ट्रिय बाणिज्य बैंक, स्ट्याण्डर्ड चार्टड, नेपाल इन्भेष्टमेन्ट नेपाल बैंंक र सानिमामा त नौ प्रतिशत भन्दा पनि कममा कर्जा पाउन सक्ने देखिन्छ । तर, सिभिल , सेञ्चुरी कुमारी र बैंकको आधार ब्याजदर भने उच्च रहेको छ ।

नेपाल राष्ट्र बैैंकले मंगलबार मौद्रिक नीतिको तेस्रो संसोधन गर्दैस्वास्थ्य संस्था तथा अस्पताल र उद्योगले अक्सीजन प्लान्ट स्थापना गर्नका लागि कर्जाको माग गरेमा आधार दरमा नै ऋण प्रवाह गर्न सक्ने व्यवस्था गरेको हो ।

यसबाहेक मंगलबार मौद्रिक नीतिको तेसो समिक्षा गर्दै राष्ट्र बैंकले लिक्विड अक्सिजन प्लाण्टको लागि ५० करोडसम्म तथा अक्सिजन प्लाण्ट स्थापना गर्ने प्रयोजनको लागि २० करोडसम्मको कर्जालाई एक वर्षको लागि विशेष पुनरकर्जा उपलब्ध गराइने व्यवस्था गरेको छ ।

निषेधाज्ञा अवधिभर र त्यसको एक महिनासम्म बैंक तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको असुली सम्बन्धी सूचना वा लिलामी सम्बन्धि सूचना जारी गर्न नपाउने भएका छन् । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप र कर्जाको व्याजदर परिवर्तन सम्बन्धी जानकारी सम्बन्धित ग्राहकलाई विद्यतीय माध्यमबाट तत्काल उपलब्ध गराउनु पर्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ ।

अब बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत छुट्याएको कोषको रकम अक्सिजन सिलिण्डर, भ्याक्सिन र औषधीमा खर्च गर्न पाउने भएका छन् ।

साथै राष्ट्रिय महत्वका आविष्कार केन्द्र तथा मानव सेवा जस्ता परोपकारी कार्यमा गरेको खर्च समेत उक्त कोषबाट हुने खर्चमा गणना गरिने व्यवस्था गरिएको छ । त्यस्तै निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकबाट कर्जा असुलीमा कुनैपनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाउने पनि व्यवस्था गरिएको छ ।