आधारभूमि संवाददाता
काठमाडौँ, २२ वैशाख
बुधवार थप ८ हजार ६५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा २१ हजार ३७२ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या तीन लाख ५९ हजार ६१० पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २१ हजार ३७२ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या ३८१ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ जना छन् । हालसम्म २५ लाख ५८ हजार ५१ जनाको पीसीआर परीक्षण गरिएको छ।
थप १९९३ जना डिस्चार्ज
नेपालमा पछिल्लो २४ घण्टामा १९९३ जनाले कोरोना जितेका छन् ।
यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या दुई लाख ८९ हजार ७८३ पुगेको छ ।
थप ५८ को मृत्यु
पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन हजार ४७५ पुगेको छ।