neapl investment mega bank
  • गृहपृष्ठ
  • एन आई सी एशिया चमत्कारिक बचत सिरिज अन्तर्गत २० लाख बीमा रकम भुक्तानी

एन आई सी एशिया चमत्कारिक बचत सिरिज अन्तर्गत २० लाख बीमा रकम भुक्तानी

May 5th, 2021

काठमाडौ, बैशाख २२

एन आई सी एशिया बैंकले बचतसँगै बीमा सुविधाले भरिपूर्ण चमत्कारिक बचत सिरिज अन्तर्गत उपलब्ध २० लाख बिमा रकम भुक्तानी गरेको छ । बैंकका अनुसार जनही १० लाख रुपैयाँका दरले दुई जना ग्राहकहरूलाई उक्त रकमक भुक्तानी गरिएको हो । सियारी गाउँपालिकाको हर्नेया स्वास्थ्य चौकीमा कार्यरत बुटवल निवासी ४४ वर्षिया निशा श्रेष्ठ आले कक्षपतिले बैंकको रुपन्देही जिल्लास्थित सियारी शाखामा सुपर चमत्कारिक तलब बचत खाता खोल्नुभएकोमा सो खातामा रहेको खातावाल तथा निजको परिवारका सदस्यहरुलाई समेत उपलब्ध बीमा सुविधा अनुरुप वहाँका पति जवीन प्रसाद कक्षपतिको घातक रोग उपचारवापत निज खातावालाले उक्त रकम प्राप्त गर्नुभएको हो । साथै, सोही जिल्लाको रुद्रपुर शाखामा न्यू सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीको खाता खोल्नुभएका कञ्चन गाउँपालिका–३ निवासी ४७ वर्षिया बिन बहादुर वर्मालाई घातक रोगको उपचार वापत उक्त रकम भुक्तानी गरिएको छ । उक्त बीमा रकम बैंकले एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरेको हो ।

बैंकले हाल न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ का ग्राहकहरूलाई भविष्यमा आइपर्न सक्ने भवितब्यको लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न बीमा सुविधा प्रदान गर्दै आएको छ । यस बचत योजनामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि १० लाख, दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई १० लाख र मेडिकल जाँचमा हुने अस्पताल खर्च वापत एक लाख (अस्पताल भर्नामा ८० हजार र बहिरंग उपचारमा २० हजार) सँगै विभिन्न निःशुल्क सुविधाहरू समेत ग्राहकहरूले पाउन सक्नुहुनेछ । बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका चार सय ४५ जना भन्दा बढी ग्राहकहरूले बीमा वापतको दुुई करोड ९० लाख भन्दा बढी रकम प्राप्त गरिसक्नुभएको छ । यस किसिमका बीमासहितको बचत योजनाहरूबाट आमसर्वसाधारणलाई बचत गर्न थप प्रोत्साहन मिलेको बैंकले विश्वास लिएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका तीन सय ५२ शाखा कार्यालयहरू, चार सय ७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । २२ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब दुुई अर्ब ६५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।