neapl investment mega bank
  • गृहपृष्ठ
  • एमाले अध्यक्ष र राष्ट्रपति अस्वीकार गरेको थिएँःशेरचन

एमाले अध्यक्ष र राष्ट्रपति अस्वीकार गरेको थिएँःशेरचन

May 4th, 2021

गण्डकी, २१ वैशाख /रासस

गण्डकी प्रदेशका निवर्तमान प्रदेश प्रमुख अमिक शेरचनले आफ्नो बाँकी जीवन पनि राष्ट्रिय अखण्डता, स्वाभिमान र लोकतन्त्रका पक्षमा रहने बताउनुभएको छ । प्रदेश प्रमुखबाट सोमबार पदमुक्त शेरचनले आज आयोजित पत्रकार सम्मेलनमा लोकतन्त्र प्राप्तिका संघर्षमा आफू निरन्तर लागिरहेको बताउँदै आगामी दिनमा पनि देश र जनतालाई केन्द्रमा राख्दै प्राप्त उपलब्धिको रक्षार्थ क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

संविधान, नियम र कानूनलाई आफूले सधैंँ प्राथमिकतामा राखेको बताउँदै उहाँले प्रदेश प्रमुखको जिम्मेवारीमा रहँदा पनि त्यही जिम्मेवारीलाई आत्मसात् गर्दै अघि बढेको स्पष्ट पार्नुभयो ।आफू पदका लागि कहिल्यै नलागेको स्पष्ट पार्दै शेरचनले मनमोहन अधिकारीपछि नेकपा(एमाले)का अध्यक्ष र राष्ट्रपति डा रामवरण यादवपछि राष्ट्रपतिको जिम्मेवारीका लागि आएको प्रस्तावलाई आफूले अस्वीकार गरेको जिकिर गर्नुभयो ।

माक्र्सवाद, लेनिनवाद र माओ विचारधाराप्रति आफू सधैँ प्रतिबद्ध भएको तथा सिद्धान्त र निष्ठाको राजनीतिलाई निरन्तरता दिंँदै आएको धारणा उहाँले राख्नुभयो ।राजनैतिक अस्थिरता र भ्रष्टाचार आदि बढ्दा देशलाई अघि बढ्न नदिने उहाँले स्पष्ट पार्नुभयो ।

कोरोना महामारीका परिस्थितिमा सम्पूर्ण राजनीतिक दलबीच साझा सहमति र सहकार्यमा देशव्यापी सचेतना अभियान चलाई जनताको जीउधनको रक्षा गर्नुपर्नेमा जोड दिंँदै उहाँले वर्तमान अवस्थामा पार्टीपार्टीबीचको फुट तथा पद र सत्तालिप्साको खेलमा देशलाई चुर्लुम्म डुबाउन नहुने विचार उहाँले व्यक्त गर्नुभयो ।

प्रदेश प्रमुखको जिम्मेवारीमा रहँदा सहयोग गर्ने प्रदेश सरकार, राजनीतिक दललगायत सम्पूर्णमा उहाँले धन्यवाद व्यक्त गर्नुभयो । सोमबारको मन्त्रिपरिषद्को बैठकले शेरचनलाई गण्डकी प्रदेश प्रमुखबाट मुक्त गरी सीताकुमारी पौडेललाई नियुक्त गरेको थियो ।