neapl investment mega bank
  • गृहपृष्ठ
  • बैदेशिक रोजगारीमा ६५ प्रतिशतले कमि, अन्तर्राष्ट्रिय उडान प्रभावित सँगै अन्यौलता

बैदेशिक रोजगारीमा ६५ प्रतिशतले कमि, अन्तर्राष्ट्रिय उडान प्रभावित सँगै अन्यौलता

May 3rd, 2021

आधारभुमि संवाददाता

काठमाडौं, बैशाख २०

महामारीका कारण बिदेशबाट नेपालका लागि भनेर आउने कामदारको मागमा नै ६५ प्रतिशतले कमि आएको छ । यसैत अघिल्लो कोरोना महामारीका कारण अन्यौलता छाइरहेका बेला फेरी दोस्रो लहरले झनै अनिश्चीतता बनाएको छ।

सरकारले बैशाख २२ गतेबाट नै अन्तर्राष्ट्रिय उडान रोक्ने तयारी गर्दैछ । जसले विदेशबाट माग भएका कामदार समेत पठाउन कठिन हुने देखिएको छ । एक त विदेशबाट आएका माग नै कमि छन् । त्यसमाथि बढ्दो महामारीले कामदार पठाउन नै असहज भएको छ ।

बैदेशिक रोजगार विभागका अनुसार अघिल्लो वर्ष ३ लाख २९ हजारको माग आएकोमा यो वर्ष १ लाख १४ हजारको मात्र आएको विभाग बताउँछ । यो आर्थिक वर्षको चैतसम्म वैदेशिक रोजगारीका लागि आउने कामदार माग संख्या ६५ प्रतिशतले घटेको छ ।

त्यस्तै आर्थिक वर्ष २०७६/०७७ मा संस्थागत र व्यक्तिगत गरी १ लाख ९० हजार श्रमिक गएकोमा यो वर्षको ९ महिनामा १ लाख २४ हजार मात्र श्रमिक वैदेशिक रोजगारीमा गएका छन् ।

जताततै अन्यौलता

इजरायलको एक हजार कोटाका लागि पठाउने भन्नेमा अहिले अन्योलता छाएको छ । श्रम मन्त्रालयले कोरोना महामारीलाई देखाउँदै कार्यविधिको काम नै अल्झाएर राखिएको छ ।

त्यस्तै नेपालीको प्रमुख श्रम गन्तव्य मलेसियाले पनि संक्रमित देशबाट श्रमिक नलिने नीतिबमोजिम नेपाललाई खतराको क्षेत्रमा राखेको छ ।

महामारीअघि मलेसियाबाट आएका मागपत्रको म्याद नै सकिने क्रममा छ । त्यस्तै कुवेतले पनि कामदार लिएको छैन ।

साउदी अरेबियामा ६० हजार बढी श्रमिकको माग भए पनि त्यससम्बन्धी करिब २३ सयवटा फाइल कर्मचारी र अरु समस्या देखाएर अगाडि बढाइएको छैन ।

१० हजार युवा कोरियाको आशमा

अहिले करिब १० हजार युवा दक्षिण कोरिया जान तयारी अवस्थामा छन् । एक महिनाअघि कोरियाले नयाँ परीक्षा लिने र कोरिया लैजाने संकेत दिएको थियो । जसका लागि करिब ६ हजार युवाको भिसाको म्याद पनि थपेको थियो । तर अहिले नेपालमा संक्रमण बढेपछि पुनः नेपाल खतरा सूचीमा पुगेको छ । कहिले त्यहाँ जाने अनुमति आउछ भन्ने चाहि अझै निश्चीत छैन ।