neapl investment mega bank
  • गृहपृष्ठ
  • कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरीद्वारा देशभर सचेतना कार्यक्रम संचालन

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरीद्वारा देशभर सचेतना कार्यक्रम संचालन

Apr 27th, 2021

काठमाडौं, बैशाख १४

कोभिड–१९ को दोस्रो लहरबाट सिर्जित हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी यसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरीले देशभर विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । माइकिङ र प्लेकार्ड सहित पछिल्लो २४ घण्टामा गरिएका ७ सय २ वटा सचेतनामूलक कार्यक्रमबाट जम्मा १ लाख ४७ हजार २ सय ९५ जना लाभान्वित भएका छन् ।

कोभिड–१९ को संक्रमण रोक्न नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरेको हो ।

अभियानको क्रममा पछिल्लो २४ घण्टामा ११ हजार ७ सय २२ जनालाई प्रहरीले निःशुल्क मास्क वितरण गरेको छ । मास्क नलगाई हिँडडुल गर्ने २३ हजार ९ सय ४१ जनालाई होल्डिङ जोनमा राखी सम्झाई बुझाई पठाइएको छ । साथै तोकिएको मापदण्ड उल्लंघन गर्ने १ हजार ४ सय ६५ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको छ । साथै मास्क तथा स्यानिटाइजरको सहि प्रयोग र नियमित मास्क लगाउन प्रहरीले सबैमा अनुरोध समेत गरेको छ ।
नेपाल प्रहरीले विभिन्न स्थानहरूमा कोभिड–१९ को जोखिम न्यूनीकरणको लागि सचेतनामूलक सन्देश सहितको माइकिङ, सवारी साधनहरूको चेकजाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शन लगायतका कार्यक्रमहरू संचालन गरेको छ ।

कार्यक्रमलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।