neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • शहरी पुनरुत्थानको कार्ययोजनामा पुनःनिर्माण प्राधिकरण

शहरी पुनरुत्थानको कार्ययोजनामा पुनःनिर्माण प्राधिकरण

Apr 25th, 2021

काठमाडौँ, १२ वैशाख /रासस

शहरी क्षेत्रमा घरको मात्र पुनःनिर्माण गरेर नहुने भएकाले राष्ट्रिय पुनः निर्माण प्राधिकरण शहरकै पुनः निर्माण गर्नुपर्ने निष्कर्षमा पुगेको छ । गोरखा भूकम्पको छैटौँ स्मृति दिवसका अवसरमा प्राधिकरणले आज यहाँ आयोजना गरेको भूकम्पपछिको पुनः निर्माणबाट उत्थानशील समाज निर्माणमा पुगेको योगदान र भावी कार्यदिशा विषयक अन्तरक्रियामा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले काठमाडौँ उपत्यकाका सम्पदा संरक्षणलाई समेत जोडेर शहरी पुनरुत्थान कार्ययोजना शुरु गर्न लागिएको जानकारी दिनुभयो ।

हालै प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको प्राधिकरण निर्देशक समितिको बैठकले शहरी पुनरुत्थान कार्यक्रम लागू गरी राजधानीका नगरपालिकालाई नमूनाका रुपमा स्थापित गर्ने निर्णय गरेको जानकारी दिनुभयो । राजधानीलगायत शहरी क्षेत्रमा एउटासँग अर्को घर जोडिएको हुने र एउटा घर भत्काउँदा अरूलाई पनि असर पर्ने भएकाले पनि धेरै घर पुनःनिर्माण हुन नसकेको पाइएकाले यस्तो कार्यक्रम अघि सारिएको प्राधिकरणले जनाएको छ ।

भूकम्प र ढुङ्गामाटाको घरका विषयमा अध्ययन केन्द्र नै स्थापना गरेर अनुसन्धानका कामलाई अघि बढाउनुपर्ने निष्कर्षमा पनि प्राधिकरण पुगेको उहाँको भनाइ थियो । भूकम्प अति प्रभावित १४ जिल्ला र कम प्रभावित १८ गरी ३२ जिल्लामा धेरैजसो ढुङ्गामाटाले बनेका घर भत्किएकाले पनि भूकम्प पीडितलाई पक्की घर मात्र बलियो हुन्छ भन्ने छाप परेको थियो ।

“पुनःनिर्माण शुरु गर्नुपूर्व ढुङ्गामाटाको घर बलियो हुँदैन भन्ने छाप बस्यो, अनुसन्धान गरेर कति बलियो हुन्छ भन्ने काम गर्न सकिएन, अबका दिनमा यसको अध्ययन गरिनुपर्छ, यसबाट आगामी दिनमा हुने पुनःनिर्माणमा पाठ सिक्न सकिन्छ”, प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भन्नुभयो ।

विसं २०७२ पुस १० गते प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएपछि ११ गते धरहरा र पशुपतिनाथ मन्दिरमा गएर पुनःनिर्माणमा काम गर्ने प्रेरणा लिएकाले शनिबार धरहराको काम सकी उद्घाटन भएपछि जीवनमा सबैभन्दा खुशीको दिन बनेको उहाँले सुनाउनुभयो । धरहरा क्षेत्रमा बाँकी पुनःनिर्माणका कामलाई पनि छिट्टै सकाउने प्रमुख कार्यकारी अधिकृत ज्ञवालीको प्रतिबद्धता छ ।

प्राधिकरणका सचिव मणिराम गेलालले नेपालको पुनःनिर्माणको अनुभवलाई हेरेर आगामी दिनमा विश्वका अन्य स्थानमा हुने भूकम्प पछिको पुनःनिर्माण अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा प्राधिकरणका कार्यकारी सदस्यद्वय ध्रुवप्रसाद शर्मा र डा चन्द्रबहादुर श्रेष्ठ, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा गोविन्द नेपाल, पूर्वसचिव किशोर थापा, विश्व बैंकका काम्रान अकबर, ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका महासचिव मुकुन्दबहादुर प्रधान, प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरे लगायतले पुनः निर्माणका क्रममा उल्लेखनीय काम भएको, भूकम्प पछिको पुनः निर्माणसम्बन्धी ऐनमा व्यवस्था गरिएका कतिपय प्रावधान कार्यान्वयन नहुँदा जति छिटो राम्रो पुनः निर्माण हुनुपर्ने थियो त्यो हुन नसकेको बताउनुभयो ।

कार्यक्रममा प्रबलीकरणसम्बन्धी चार पुस्तक लोकार्पण गरिएको थियो । भूकम्पपछि गरिएको सर्वेक्षणमा ७८ हजार घर प्रबलीकरण सूचीमा परे पनि हालसम्म एक हजार मात्र प्रबलीकरण भएको जानकारी दिइएको थियो । आगामी दिनमा प्रबलीकरणसम्बन्धी कार्यविधि बनाएर अभियानका रुपमा अघि बढाउनुपर्नेमा कार्यक्रममा जोड दिइएको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi